धुलिखेलः दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रो सँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर्षौं पछि आँखा देख्न पाएको बताए ।
नजिकको मात्रै अलिअलि देख्ने उनको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । यसरी नै ११ वर्ष बिताएका उनी गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखे पछि खुसीले दङ्ग भएका छन् ।
‘जन्मेको दुई वर्ष देखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु’, उनले भने, ‘आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुसी छुँ ।’
प्रकाश मात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उनले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताइन् । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नु पर्ने बाध्यता रहेकामा शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको उनले बताइन् । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो ।
‘देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएर्नौ’, सुस्मिताले भनिन्, ‘गाउँमा आएको शिविरमा उपचार पछि बल्ल सबै चिज देख्न पाएका छु ।’
दुई जना मात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् ।
तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताए ।
यस क्रममा शल्यक्रिया सहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्ष सम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए ।




.gif)





