images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • विद्यार्थीद्वारा...

विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • सुन्दरबजार– सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् ।गत वर्षदेखि च्याउखेतीको सुरुआत गरेका विद्यार्थीले यस वर्ष व्यावसायिक रूपमा दुई सय ५० पोका च्याउ नगरपालिकाबाट अनुदानमा पाएपछि उत्पादनमा जुटेका हुन् ।

    images
    images

    विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शर्माका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ उनीहरूले बजारमा बेच्ने गरेका छन् । च्याउ बिक्रीबाट प्राप्त भएको आम्दानीबाट खेती गर्दाको खर्च कटाएर उनीहरूको शैक्षिक क्रियाकलाप, छात्रवृत्ति, राहत र अतिरिक्त क्रियाकलापमा खर्च गरिने उनले जानकारी दिए ।गत वर्ष सानो सङ्ख्यामा परीक्षणको रूपमा च्याउखेती थालेका विद्यार्थी उत्पादन भएपछि यसतर्फ थप आकर्षित भएका छन् । ‘विद्यार्थीहरुले उत्पादन गरेको च्याउ भनेपछि बजारमा सबैले किनिदिनुहुन्छ । यसले उनीहरूलाई उत्साह पनि बढेको छ भने विद्यार्थीले सीपसमेत सिकिरहेका छन्’, प्रधानाध्यापक शर्माले भने ।

    विद्यालयले यो शैक्षिक सत्रदेखि साताको एक दिन किताबबिना विद्यालय बोलाउने गर्दछ । उक्त ‘बुक फ्रि डे’को दिन विद्यार्थीलाई विभिन्न परियोजनात्मक काममा लगाउने गरिएको प्रधानाध्यापक शर्माले बताए । उनले भने, ‘उक्त दिन विद्यार्थीले विभिन्न व्यवहारिक सीप सिक्ने र सोही सीपलाई आफ्नो समाज र परिवारमा उपयोग गर्ने गरेका छन् ।’अतिरिक्त क्रियाकलाप, कृषि कार्यक्रम, विभिन्न स्थानको अवलोकन, बजार सरसफाइलगायत व्यवहारिक काममा विद्यार्थीलाई सक्रिय बनाउने गरिएको प्रअ शर्माले बताए । उनका अनुसार विद्यार्थीहरू किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, अवलोकन, अध्ययन र सीपमूलक काममा लगाउने गरिएको हो ।

    images
    images

    यही परियोजनाअन्तर्गत विद्यार्थीले बिहीबार र शुक्रबार च्याउखेती गर्न थालेका प्रअ शर्माले जानकारी दिए । ‘च्याउ उत्पादनका लागि पराल तथा पानी उमाल्न दाउरा विद्यालयले खरिद गरी उपलब्ध गरिदिएको छ । दुई सय ५० पोका च्याउ अनुदानमा सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाले उपलब्ध गराइदिएको हो’, उनले भने ।

    ‘च्याउका पोकालाई राख्नका लागि विद्यालयले कोठा उपलब्ध गराएको छ । च्याउ उत्पादन भएपछि विद्यार्थीले विभिन्न तौलका पोका बनाएर बजारमा बिक्री गर्दछन्’, प्रअ शर्माले भने, ‘विद्यार्थीलाई स्थानीय नागरिक तथा विद्यालयका शिक्षकहरूले सहयोग गरिरहेका छौँ ।’ गत वर्ष परीक्षणको रूपमा ४० पोका च्याउखेती गरिएको भन्दै त्यसबाट रु ३८ हजार आम्दानी भएको उनले जानकारी दिए ।विद्यार्थीहरूकै रेखदेखमा उत्पादन हुने च्याउका लागि प्राविधिक सहयोगसमेत कृषि विकास शाखाले उपलब्ध गराएको छ । गत वर्ष उत्पादन भएको च्याउबाट विद्यार्थीले परिवारमासमेत आफ्नो मेहनतको स्वाद चखाउन पाएका थिए भने शैक्षिक क्रियाकलापका लागि केही रकम जम्मा पनि गरेका विद्यालय प्रशासनले जनाएको छ ।

    विद्यार्थीद्वारा उत्पादित च्याउमा कुनै विषादी प्रयोग गरिँदैन । बजारमा बाहिरबाट आउने च्याउभन्दा स्वस्थकर हुने भएकाले उपभोक्ताले पनि रुचाएका विद्यार्थी र शिक्षकको अनुभव छ । विशेष गरी विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक अभ्यास गराउने उद्देश्यले यो कार्यको थालनी गरिएको विद्यालयले जनाएको छ ।‘किताब पढ्ने मात्रै होइन यसलाई व्यवहारमा उतार्न पनि च्याउखेती गरेका हौँ’, कक्षा ८ की छात्रा अनुशा अधिकारीले भनिन्, ‘भविष्यमा कृषि गर्न चाहनेलाई यसले सीप र अनुभव दिन्छ भने अन्य व्यक्तिलाई सिकाउन पनि सकिन्छ ।’

    कक्षा ७ की संस्कृति श्रेष्ठले पढाइसँगै सीप र आम्दानीबाट शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भनेर च्याउखेती गर्दै आएका बताइन् । ‘बुक फ्रि डेबाहेक अन्य दिनमा सैद्धान्तिक अध्ययनबाट बचेको समयमा च्याउखेतीको हेरचाह गर्ने पालो मिलाएका छौँ’, उनले भनिन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend