images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • त्रिभुवन विमानस्थलका कर्मचारीलाई तलबकै ३६% पार्किङ...

त्रिभुवन विमानस्थलका कर्मचारीलाई तलबकै ३६% पार्किङ शुल्क

त्रिभुवन विमानस्थलका कर्मचारीलाई तलबकै ३६% पार्किङ शुल्क

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कर्मचारीसँग मासिक तलबकै ३६ प्रतिशतसम्म पार्किङ शुल्क असुल गर्ने गरी ठेकेदार कम्पनीलाई स्वीकृति दिएको पाइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा हरेक सवारी साधनले चर्को पार्किङ शुल्क तिर्नुपर्ने गरी ठेकेदार कम्पनीलाई अनुमति दिएको हो ।सरकारले मजदुरको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सय रुपैयाँ तोकेको छ । यो पारिश्रमिकअनुसार सवारी साधन लिएर काममा जाने मजदुरले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरेर काम गर्दा मासिक पार्किङ शुल्क करिब ६ हजार २४० तिर्नुपर्छ ।

    images
    images

    विमानस्थलमै काम गर्ने मजदुरले पार्किङ गर्ने सवारी साधनको लागि पनि घण्टाको ४० रुपैयाँ पर्छ भने दैनिक २४० रुपैयाँ नै पार्किङ शुल्क तिर्नुपर्ने अवस्था छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यायलले लिएको यस्तो पार्किङ शुल्क महिनामा २६ दिन काम गर्ने कर्मचारीले प्रतिदिन २४० रुपैयाँका दरले पार्किङ शुल्क तिर्दा मासिक ६ हजार २४० रुपैयाँ बुझाउनुपर्छ । सरकारले मजदुरलाई दिने दैनिक पारिश्रमिकको ३६ प्रतिशतसम्म शुल्क असुल गर्नु न्यायोचित नभएको भन्दै वायुसेवा सञ्चालक संघले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘विमानस्थल सेवा शुल्क नियमावली २०७८’ अनुसार गत भदौ १० बाट पार्किङ शुल्क बढाएर लिन थालेको हो ।

    प्राधिकरणले २ वर्ष अगाडि नै शुल्क वृद्धिको निर्णय गरेर चालु आवको भदौबाट मात्रै कार्यान्वयन गरेको जनाएको छ । प्राधिकरणले नयाँ ठेकेदार छनोटको तयारी गर्दै गरेको थियो । नयाँ ठकेदार चयन नभएसम्म पुरानै सिद्धगढी मारुती जेभी प्रालिलाई काम गर्न दिने भन्दै पार्किङ शुल्क बढाउन सिफारिस दिएको हो ।प्राधिकरणले १ मंसिर ०७९ देखि विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको भए पनि अस्वभाविक रुपमा वृद्धि गरेको र वायुसेवाका कर्मचारीलाईसमेत अनिवार्य पार्किङ शुल्क असुल गर्ने व्यवस्था गरेको हो।

    images
    images

    पार्किङ शुल्क बढाउने निर्णय नेपाल सरकारले अनुमोदन गरेपछि कार्यान्वयनमा गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । विमानस्थल कार्यालयले एक महिनाको समयसीमा तोकेर १४ भदौमा नयाँ दररेटअनुसारको पार्किङका लागि नयाँ ठेक्कासमेत आह्वान गरिसकेको र सोही अनुसार पार्किङ शुल्क लिन थालिएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    नयाँ पार्किङ शुल्कअनुसार त्रिभुवन विमानस्थलमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरेको प्रतिघण्टा ४० र प्रतिदिन २४० रुपैयाँ तोकिएको छ। यसअघि मोटरसाइकल तथा स्कुटरको प्रतिघण्टा पाँच रुपैयाँ मात्रै थियो भने दिनको ३० रुपैयाँ तिरे पुग्थ्यो । अहिले कार जिप, भ्यानले प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ तिर्नुपर्छ । यसअघि कार, जिप र भ्यानले प्रतिघण्टा २० रुपैयाँ मात्रै र प्रतिदिनको १२० रुपैयाँ तिरे पुग्थ्यो ।

    विमानस्थल प्रवेश गर्ने निजी वायुसेवाका कर्मचारीलाई पनि पार्किङ शुल्क सुल गर्न थालिएको गुनासो वायुसेवा सञ्चालक संघको छ । वायुसेवा संचालक संघले वायुसेवाको विमानस्थलभित्रै चल्ने गाडी तथा कर्मचारीको सवारीमा अधिक शुल्क असुल गरिरहेको भन्दै गुनासो गरेको छ ।विमानस्थलभित्रै चल्ने र्‍याम बसलाईसमेत ८ सय प्रतिशतसम्मले पार्किङ शुल्क बढाएको वायुसेवा सञ्चालक संघको भनाइ छ ।वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले कर्मचारीले अधिक पार्किङ शुल्क तिर्न नसक्ने भन्दै छुट्टै निःशुल्क स्लट मागिएको बताए । यो विषयमा नागरिक उड्डयन प्राधिकरणसँग आपसी छलफल भइरहेको उनको भनाइ छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने कसैलाई पनि पार्किङ शुल्क छुट दिन नमिल्ने बताए । ‘पार्किङ शुल्क उठाउने काम हामीले ठेकेदार कम्पनीलाई दिइसकेका छौं । ठेकेदारले बढी बढाउमा पार्किङ शुल्क उठाउने जिम्मा पाएकोले हामीले नउठाउने वा कसैलाई छुट दिने भन्न मिल्दैन’ उनले भने ।निरौलाका अनुसार कर्मचारीलाई छुट्टै शुल्क तोक्न सकिने विषयमा भने सकारात्मक रुपमा लिन सकिन्छ ।

    ‘नियमित रुपमा आउने र काम गर्ने कर्मचारीलाई दुई पक्ष (ठेकेदार र सम्बन्धित वायुसेवा)को सहमतिमा शुल्क तोक्न सक्छन् तर पैसा नै नतिर्ने भन्ने चाहिँ हुँदैन,’ उनले थपे ‘ठेक्का लिने पार्टीले पनि बढाबढमा ठेक्का गरेर त्रिभुवन विमानस्थललाई पैसा तिर्ने तिर्ने हो । त्यसो भएको हुनाले पार्किङ शुल्कमा छुट दिने र सहजीकरण गर्न सकिन्छ तर कसैलाई शुल्क पूर्ण छुट गर्न भने सकिँदैन ।’विमानस्थलका महाप्रवन्धक निरौलाले वायुसेवाका कर्मचारीलाई पार्किङ शुल्कमा छुट दिने भन्ने व्यवस्था विमानस्थल सेवा शुल्क नियमावलीमा कहीँ पनि उल्लेख नभएको बताए । ‘पार्किङको पैसा तिर्नुपर्ने हुन्छ तर अरु पटके भिजिटरलाई जस्तो वायुसेवाका कर्मचारीले हरेक पटक शुल्क तिर्नु पर्दैन,’ उनले भने, ‘ठेकेदार कम्पनीसँग बसेर वायुसेवालाई आपसी छलफलबाट उपयुक्त तरिकाले पार्किङ शुल्क उठाउने वातावरण भने उपलब्ध गराइदिएको छु ।’

    नियमावलीले वायुसेवाका कर्मचारीलाई छुट्टै पार्किङ शुल्क उठाउने व्यवस्थासमेत नगरेको भन्दै निरौलाले भने, ‘सम्बन्धित वायुसेवा कम्पनीले ठेकेदारसँग बसेर नै उपयुक्त शुल्क तिर्ने विषय तय गर्न सकिन्छ ।’नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले विमानस्थल सञ्चालन पनि गर्नुपर्ने भन्दै थोरै बढेको शुल्क वायुसेवाका कर्मचारीले तिर्नुपर्ने बताए । वायुसेवाका कर्मचारी भने चर्को पाकिङ शुल्क तिर्न नसक्ने भन्दै प्राधिकरणसँगै लबिइङ गरिरहेका छन् ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend