लन्डन । लन्डनस्थित फेसन व्यवसायी रविन्द्रजंग लामिछानेको नेतृत्वमा रहेको ‘द लामिछाने फाउण्डेशन’ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि १ करोड ७ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।बेलायतको च्यारिटी कमिशनमा दर्ता उक्त संस्थाले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७२७ पाउण्ड जम्मा गरेको हो । दूतावासले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने जनाएको छ ।लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र बेलायतस्थित सांसद विदुषी राणालाई सहयोगको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा सांसद राणाले विपद्को समयमा लामिछानेले गरेको सहयोगको प्रशंसा गर्दै नेपाललाई पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रवासी नेपालीको साथ आवश्यक रहेको बताइन् । बाढीपछि बेलायतसहित विश्वभर रहेका नेपालीले सहयोग गरिरहेको उल्लेख गर्दै उनले पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग पनि आवश्यक रहेको बताइन् ।राणाले आफ्नो बेलायत भ्रमणका क्रममा ब्रिटिश नेताहरूसँग भेटेर नेपालको पुनर्निर्माणका लागि सहयोगको आग्रह गरिरहेको जानकारी दिइन् ।पूर्वसांसद बिरेन्द्र शर्माले लामिछानेले विपद्का बेला सहयोग गर्नुका साथै बेलायत–नेपाल सम्बन्ध अभिवृद्धि र व्यापार विस्तारमा समेत योगदान पुर्याउँदै आएको बताए ।कार्यवाहक राजदूत दुवाडीले फाउण्डेशनप्रति कृतज्ञता व्यक्त गर्दै लामिछानेले २०७२ सालको भूकम्प र कोभिड महामारीका समयमा पनि सहयोग गरेको स्मरण गरे । सरकार अब उद्धार चरणबाट पुनर्स्थापना र पुनर्निर्माणतर्फ केन्द्रित भएको उनले बताए ।
फाउण्डेशनका अध्यक्ष लामिछानेले देशमा विपत्ति आउँदा सहयोग नगरी बस्न नसक्ने बताए । बाढीबाट भएको क्षतिले आफूलाई दुःखी बनाएको र त्यसपछि सहयोग जुटाउन लागेको उनको भनाइ थियो । उनले सहयोग गर्ने सबै दाताप्रति धन्यवाद व्यक्त गरे ।कार्यक्रममा ब्रिटिश सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा मगर र समुदायका अग्रज महन्त श्रेष्ठ ओबीईले लामिछानेको समाजसेवाबारे चर्चा गरेका थिए । फाउण्डेशनका ट्रस्टी लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए ।लामिछानेले यसअघि २०७२ सालको भूकम्पका क्रममा नेपाली सेना र प्रहरीमार्फत कम्बल, पाल तथा अत्यावश्यक सामग्री वितरण गर्नुका साथै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा ५१ लाख रुपैयाँ नगद सहयोग गरेका थिए ।कोभिड–१९ को दोस्रो लहरका क्रममा उनले १५ लाख रुपैयाँ सहयोग गरेका थिए भने स्वामीनारायण संस्थासँगको सहकार्यमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका थिए ।
सामाजिक क्षेत्रमा समेत सक्रिय लामिछानेले काठमाडौंको चन्द्रेश्वर महादेव मन्दिर, पर्वतको कुलबाराही मन्दिर, लन्डन पशुपति मन्दिर र शिव कल्चरल सेन्टर निर्माणमा सहयोग गरेको जनाइएको छ । रविचन्द्र ट्रस्टमार्फत ५५ विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।यूके–नेपाल व्यापार मञ्चका उपाध्यक्षसमेत रहेका लामिछानेले बेलायत–नेपाल सम्बन्ध विस्तारमा समेत विभिन्न भूमिका निर्वाह गरेको जनाइएको छ । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा तत्कालीन बेलायती प्रधानमन्त्री टेरेजा मेसँगको भेटघाट व्यवस्थापन, २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा स्वागत कार्यक्रम तथा २०२२ मा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायती सभामुखबीचको भेटघाट समन्वयमा उनले भूमिका निर्वाह गरेका थिए।




.gif)





