गलकोट (बागलुङ) कालीगण्डकी करिडोर भारतलाई चीन सँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी सँग जोड्न सफल भएको छ । अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबै भन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो ।
करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनी सँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताए ।
करिडोर अन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ । “दक्षिण बागलुङको विकासको ढोका करिडोरले खोलेको छ, मार्ग (ट्रयाक) खुलेको पाँच वर्षमा नै कालोपत्र भइरहेको छ, करिडोरको बाटो भएर भारतीय पर्यटक मुक्तिनाथ र चीनका पर्यटकलाई लुम्बिनी भित्र्याउन सकिन्छ, त्रिदेशीय व्यापारिक सम्बन्ध स्थापित हुन्छ”, उपप्रमुख शर्माले भने ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कालोपत्र सम्पन्न पछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनी बताउँछन् ।
बागलुङका स्थानीय सनम रानाका अनुसार बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको मिलनविन्दु भएकाले पर्यटकीय क्षेत्रको विकासमा सडक सञ्जालले सहयोग पुरयाउने छ । करिडोरको ट्रयाक खोलेको ५ वर्षमा विभिन्न खण्डमा स्तरोन्नति सँगै धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटबाट चीनको सिमाना कोरलानाका सम्म करिडोरको ४ सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो । चीनका पर्यटक करिडोरबाट नै लुम्बिनी आउन थालेका हुन् ।
करिडोर निर्माण गर्ने २४ वर्ष अघि देखिको योजना अहिले साकार हुने क्रममा छ । गैँडाकोट–राम्दी–मालढुंगा २४० किमी र मालढुंगा–बेनी–जोमसोम सडकखण्ड २५५ किलोमिटर गरी २ खण्डमा विभाजन गरेर करिडोरको स्तरोन्नति र कालोपत्र भइरहेको छ । गैंडाकोट–मालढुंगा खण्डको २४० किमी मध्ये १६२ अर्थात् ६७ प्रतिशत सडक कालोपत्र भइसकेको कालीगण्डकी करिडोर गैंडाकोट–मालढुंगा आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिए।
सामाजिक अभियान्ता टीकाराम ढकाल काली गण्डकी करिडोर एक धार्मिक मार्ग भएको बताउछन् । लुम्बिनी बाट मुक्तिनाथ हुँदैै मानसरोवर जानलाई करिडोरले सहज भएकामा कालोपत्र सम्पन्न पछि थप सहज हुने उनको अपेक्षा छ । चीन र भारतलाई सिधा जोड्ने करिडोरमा सवारीसाधन गुड्न थाले पछि भारतका तीर्थयात्री रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ पुग्ने थालेका छन् ।
चीनका बौद्धमार्गीहरु भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा ल्याउने वातावरण मिलाउन आवश्यक रहेको ढकालको भनाइ छ । चौबीस वर्षअघि करिडोरको परिकल्पना गुल्मीबाट गरेको ढकालले बताए । कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी नदी क्षेत्रमा रहेको रुरु, कालिका मन्दिर, गलेश्वर, मुक्तिनाथ मन्दिर जस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याएको बताए ।
करिडोर क्षेत्रमा त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्त्वपूर्ण तीर्थस्थल पर्छन् । रासस




.gif)





