काठमाडौं । सरकारले करिब सवा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् १७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको हो ।जसअनुसार १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।
ट्रेजरी बिलका लागि सोमबार आज दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत सवा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।
पछिल्लो पटकको बोलकबोलमा २.९८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथावित्तीय संस्थाले सबैभन्दा बढी ३ प्रतिशत र सबैभन्दा कम २.४५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१, पुाजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट जुटाइने सरकारको योजना छ ।




.gif)





