चितवन । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र सिएमसीका निर्देशक प्रताप देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
भरतपुर महानगरवासीले सिएमसीमा उपचार गर्दा होल बडी चेकअपमा ५० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत र अन्य उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ ।
यो सम्झौता मंसिर २ अर्थात् आजबाट लागू भई एक वर्ष सम्म लागु हुनेछ । यस्तै नगर प्रमुखको सिफारिसमा सिएमसी क्यान्सर इन्टीच्यूटमा संचालित सिटिइभिटीको पढाईमा विद्यार्थीलाई १० प्रतिशत व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेनु दाहालले नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले सिएमसी सँग छुट सहितको सम्झौता गरिएको स्पष्ट पारिन । प्रमुख दाहालले यसअघि अस्पतालमा हुने उपचारमा छुटका लागि धेरै सिफारिस आउने गरेको भन्दै अब यो सम्झौतासँगै सिधै छुट उपलब्ध भएसँगै विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे ।छुट सेवा लिनका लागि महानगरले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ। कार्ड उपलब्ध नभए सम्म महानगरपालिकाबाट सिफारिस लिएर जानुपर्ने छ ।
प्रथम पक्ष अर्थात् भरतपुरवासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको अस्पतालका अध्यक्ष हरिषचन्द्र न्यौपानेले जानकारी दिए। सिएमसी नेपालकै सबैभन्दा बढी विरामी उपचार गर्ने अस्पताल भएपनि भरतपुरवासीलाई त्यसको अनुभुत गर्न नपाएको र अब भने नगरवासीले सर्वसुलभ सेवा पाउने उल्लेख गरे । मेडिकल कलेजले अन्य पालिका सँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ।




.gif)





