काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ।
प्रतियोगितामा जनकपुरले यसअघि एक खेलमा जित र अर्को खेलमा हार बेहोरेको छ। आफ्नो पछिल्लो खेलमा जनकपुरले काठमाडौं गुर्खाजलाई ८ विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको छ।
यता, पोखरा एभेन्जर्सले भने प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। त्यसैले पोखरा आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।
जनकपुर आफ्नो जितको लय कायम राख्ने योजनामा रहँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ। दुवै टोलीबीचको आजको प्रतिस्पर्धाले प्रतियोगिताको अंकतालिकामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।




.gif)





