गोरखा । बंगालको खाडीमा विकसित शक्तिशाली सामुद्रिक चक्रवात ‘अर्नब’को प्रभावले गोरखाको मनास्लु क्षेत्रका विभिन्न गाउँमा हिमपात भएको छ। बिहीबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै चुमनुब्री गाउँपालिकाका हिमाली बस्ती तथा आसपासका पहाडमा हिउँ परेको हो।
स्थानीयका अनुसार चुमनुब्री गाउँपालिका–१ को साम्दो तथा वडा नम्बर ७ का निले, छुले र लार क्षेत्रमा हल्का हिमपात भएको छ। सामागाउँ, छेकम्पार र लामागाउँलगायतका बस्तीमा भने हिउँ नपरे पनि आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्।
चुमनुब्री गाउँपालिका–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार गाउँमा प्रत्यक्ष हिमपात नभए पनि आसपासका पहाड हिउँले ढाकिएका छन्। क्षेत्रमा बाक्लो कुहिरो लाग्नुका साथै सिमसिम पानी परिरहेको छ। मौसम यस्तै रहे गाउँमा पनि हिमपात हुन सक्ने उनले बताएका छन्।
हिमपातसँगै मनास्लु क्षेत्रमा चिसो अत्यधिक बढेको छ। स्थानीय बासिन्दा घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन्। यसले मनास्लु पदमार्गमा भ्रमणका लागि पुगेका पर्यटक तथा पर्यटन व्यवसायीलाई समेत प्रभावित बनाएको छ।
मौसम प्रतिकूल बनेपछि स्थानीय प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायले पर्यटकलाई पदयात्रा नगर्न र प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन्। साथै सुरक्षित स्थानमा बस्न, सतर्कता अपनाउन तथा स्वास्थ्य र न्यानोपनमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभाव नेपालका विभिन्न भूभागमा परेको छ। यसको प्रभावले हिमाली क्षेत्रमा हिमपात र चिसो बढेपछि स्थानीय जनजीवन तथा पर्यटन गतिविधिमा असर परेको छ।




.gif)





