images

२०८३ कार्तिक १४ गते

images
images
images
  • अर्थतन्त्र
  • नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता...

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • नेपालगन्ज (बाँके), १३ कात्तिक । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ ।

    images
    images

    गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

    स्थानीय बासिन्दालाई करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्थानीयस्तरमै करदाता सेवा उपलब्ध भएपछि व्यवसाय दर्ता, स्थायी लेखा नम्बर ९प्यान० प्राप्ति तथा करसम्बन्धी प्रशासनिक काम गर्न सहज हुने बताएका छन् ।

    images
    images

    उनले भने, “नरैनापुरका स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणले करसम्बन्धी सामान्य कामका लागि पनि नेपालगन्ज पुग्नुपर्ने अवस्था थियो । गाउँपालिकामै करदाता सेवा सुरु भएपछि स्थानीयलाई समय र खर्च बचत हुनुका साथै सेवा लिन सहज हुनेछ ।”

    सेवा केन्द्रले आन्तरिक राजस्व कार्यालय नेपालगन्ज अन्तर्गत पहिलो व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा नरैनापुर गाउँपालिका–२, बैउहवाकी जन्नतुल पठानिनलाई पहिलो प्यान प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

    पठानिनले सञ्चालन गर्ने मदिना परफ्युम एन्ड जनरल स्टोरका लागि स्थायी लेखा नम्बर जारी गरिएको हो । उक्त व्यवसायले अत्तर तथा अन्य सुगन्धित सामग्री, सौन्दर्य प्रसाधन, साबुन र किरानाका सामानको थोक तथा खुद्रा बिक्री गर्नेछ । 

    प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिकाभित्रै करदाता सेवा उपलब्ध हुँदा स्थानीय व्यवसायीलाई औपचारिक रूपमा व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन सहज हुने बताएका छन् ।

    “स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध हुँदा आर्थिक तथा प्रशासनिक काम सहज, छिटो र छरितो रूपमा गर्न सकिन्छ । यसले व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ”, उनले भने ।

    करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले नरैनापुरका करदातालाई आफ्नै गाउँपालिकाबाट करसम्बन्धी सेवा उपलब्ध गराउने गरी केन्द्र सञ्चालनमा ल्याइएको बताएका छन् । गाउँपालिकामै करदाता सेवा केन्द्र सञ्चालनमा आएपछि करसम्बन्धी कामका लागि नेपालगन्ज पुग्नुपर्ने समय र खर्च घट्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend