काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। उनी बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानमार्फत दिल्ली पुगेका हुन्।
दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्लेसहित उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए।
भारतीय टेलिभिजन च्यानलको आयोजनामा हुने ‘वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि तथा वक्ताका रूपमा सहभागी हुन अर्थमन्त्री वाग्ले भारत गएका हुन्।
भ्रमणका क्रममा उनी बिहीबार साँझ समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा.एस.जयशंकरको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
त्यस्तै, शुक्रबार बिहान ११ः१५ बजे समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।




.gif)





