मेलबर्न, अस्ट्रेलिया । अस्ट्रेलियामा रहेका नेपाली लेखक तथा परोपकारी अभियन्ता शिव न्यौपानेले नेपालमा बेवारिसे तथा परिवारजन पहिचान नभएका शवको अन्तिम संस्कारका लागि आर्थिक तथा आवश्यक सामग्री सहयोग गरेका छन्।
न्यौपानेले केही हजार रुपैयाँ नगदसहित जुत्ता, पञ्जा र मास्क सहयोग गरेका हुन्। उनले आफ्नो पुस्तक ‘फलाङ फुड डिक्सनरी’ को बिक्रीबाट प्राप्त रकम तथा पुनःप्रयोगयोग्य सामग्रीको पुनर्चक्रणबाट संकलित रकमबाट उक्त सहयोग उपलब्ध गराएका हुन्।
उनले प्रदान गरेको सहयोग नेपालका शिक्षक तथा सामाजिक सञ्जाल व्यक्तित्व होमराज पौडेलमार्फत सामाजिक अभियन्ता विजय जंग बस्नेतलाई हस्तान्तरण गरिएको जनाइएको छ।
उक्त नगद तथा सुरक्षा सामग्री बेवारिसे र परिवारजन नभएका शवको अन्तिम संस्कार तथा आवश्यक धार्मिक रीतिरिवाज पूरा गर्ने कार्यमा प्रयोग भइरहेको छ। आफन्त वा परिवारको साथ नपाएका मृतकले पनि सम्मानजनक अन्तिम संस्कार पाउन सकून् भन्ने मानवीय उद्देश्यले यस्तो सहयोग गरिएको हो।
साहित्य, वातावरण संरक्षण र परोपकारलाई एकसाथ जोड्दै आएका न्यौपानेले पुस्तक बिक्री र पुनर्चक्रणबाट प्राप्त रकमलाई सामाजिक सेवामा परिचालन गर्दै आएका छन्। उनको यो प्रयासले पुनःप्रयोग गर्न सकिने सामग्रीलाई आम्दानीको स्रोत बनाएर मानवीय सेवामा लगाउन सकिने सम्भावनालाई समेत उजागर गरेको छ।
‘फोहोर मोहर हो’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै न्यौपानेले पुनर्चक्रणबाट प्राप्त स्रोतलाई परोपकारी कार्यमा लगाएका छन्। उनको सहयोगले मृत्युपछि पनि प्रत्येक व्यक्तिले सम्मान र मर्यादासहित अन्तिम संस्कार पाउनुपर्छ भन्ने मानवीय भावनालाई बलियो बनाएको छ।
सामान्य स्रोत र साना सहयोगबाट पनि समाजमा अर्थपूर्ण परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै न्यौपानेले मानवीय सेवा र वातावरण संरक्षणलाई एकै अभियानमा जोड्ने प्रयास गरेका छन्।




.gif)





