काठमाडौं, १ मंसिर । काठमाडौंः सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ।
शुक्रबार राति भारत नयाँदिल्ली स्थित ‘होटल दि सूर्य’मा आयोजित १९औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । उक्त अवार्डबाट क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ सम्मानित भएका छन् ।
भारत सरकारका सडक यातायात तथा हाईवे राज्यमन्त्री अजय भट्ट, गान्धी स्मृतिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकुद, रक्षा तथा टुरिजम राज्यमन्त्री विजय गोयल, पश्चिम दिल्लीबाट लोकसभा सदस्य श्रीमती कमलजीत सेरावत, भाजपाका महासचिव तथा दक्षिण दिल्लीबाट लोकसभा सदस्य रामवीर सिंह विधुरी ज्युको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको थियो ।
क्यासिनो माजोङका अध्यक्ष र प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २५ वर्ष देखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभल लगायत व्यवसायमा उनको लगानी छ। उनको स्वामित्वमा रहेको क्यासिनो माजोङ नेपालकै नम्बर–१ क्यासिनो हो। क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ। र, उक्त अवार्ड त्यसैको प्रतिफल हो ।
सोही समारोहमा क्यासिनो माजोङ नेपालगञ्जलाई ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित गरिएको छ। उक्त अवार्ड क्यासिनो माजोङ नेपालगञ्जका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई प्रदान गरिएको छ।
यस्तै, सोही समारोहमा क्यासिनो माजोङ, नेपालगञ्जका महाप्रबन्धक निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएका छन्। गत वर्ष सन् २०२३ मा काठमाडौं स्थित क्यासिनो माजोङ नेपालका महाप्रबन्धक अमूल्य बिक्रम राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर साउथ एसिया’ अवार्ड प्राप्त गरेका थिए।
नयाँदिल्लीमा आयोजना हुँदै आएको ‘हस्पिटालिटी अवार्ड’ कार्यक्रममा यसअघि सन् २०२३, २०२२ र २०१९ मा क्यासिनो माजोङ नेपाल ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित भइसकेको छ। सन् २०२३ मा माजोङ नेपालगञ्जले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको थियो। क्यासिनो माजोङ नेपालले पाएको यो दक्षिण एसिया स्तरको प्रतिष्ठित अवार्ड हो।
भारतको राजधानी नयाँदिल्ली स्थित ‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूलाई अवार्ड वितरण गर्दै आएको छ। दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई प्रबर्द्धन गर्न उक्त अवार्ड फंक्सन आयोजना गरिँदै आएको छ।
दक्षिण एसियामा बेस्ट हस्पिटालिटी कसले दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ। कुन क्यासिनोको ट्रान्जेक्सन कस्तो छ अनि भिजिटरको संख्या लगायत पाटोमा ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ। र, सम्बन्धित मुलुकको बजारमा कसको बढी क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययन पछि मात्र अवार्डका लागि छनोट गरिन्छ।
‘हस्पिटालिटी इन्डिया’मा भारतको पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू, भारतको पर्यटन बोर्ड, भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरू आबद्ध छन् । भारत पर्यटन विकास निगम लिमिटेडको यसमा विशेष संलग्नता छ।
ट्राभल एन्ड हस्पिटालिटी अवार्ड मार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिन्छ। उत्कृष्ट होटलहरू, क्यासिनोहरू, टुर अपरेटरहरू, स्पा एन्ड वेलनेस सुविधा प्रदायकहरू, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ।





.gif)





