बागलुङ, २ कात्तिक । बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु नौ लाख आम्दानी गर्दै आएको छ ।
काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन्। उनीहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आएका छन्।
भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर कृषि कर्म सुरु गरेका हुन्। उनीहरूको ‘छन्त्याल कृषि फर्म’मा पाँचवटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा र गोलभेँडा लगायत सागसब्जी उत्पादन हुँदै आएको छ । फर्ममा सागसब्जीका बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरिएको छ ।
सागसब्जी बिक्रीबाट वार्षिक नौ लाख आम्दानी हुने गरेको कला छन्त्यालले बताएका छन्। हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन भइरहेको छ । विशेषगरी कौसी खेतीका लागि काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरी बिक्री गर्दा राम्रो आम्दानी हुने उनले बताएका छन्।




.gif)





