चितवन, २७ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो ।
पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ । नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उनले बताएका छन् । न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उनले जानकारी दिएका छन् । भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो । उनले भने, “परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ ।”
सोनाका ब्ल्याक जातको अङ्गुर किस्मिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफूलका रुपमा खान प्रयोग गरिने उनले जानकारी दिएका छन् । नगरपालिकाले रु पाँच लाखको लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको छ । यसलाई जाइका नेपालले प्राविधिक सहयोग गरेको उनले बताएका छन् । गत असारमा अङ्गुरको बिरुवा ल्याएर रोपिएको हो । रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उनले जानकारी दिएका छन् ।
अहिले अङ्गुर रोपिएको ठाउँको रेखदेखका लागि जाइकाले एक जना स्वयंसेवी खटाएको छ । जसले नियमित अङ्गुरको रेखदेख र वृद्धिविकासका बारेमा ध्यान दिने गरेको उनले बताएका छन् । अङ्गुरको वृद्धिविकास अहिले राम्रो भएको बताउँदै उनले भावि दिनमा उत्पादन कस्तो हुन्छ हेर्न बाँकी रहेको बताएका छन् । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताएका छन् । पर्यटकीय नगरी सौराहा रत्ननगरमा पर्दछ । यहाँ आउने पर्यटकलाई अङ्गुर फारम घुमाएर कृषिसँग जोड्ने योजना रहेको उनले बताएका छन् । परीक्षण सफल भएमा यसलाई विस्तार गर्दै लगेर उद्योगका रुपमा विस्तार गर्ने योजना अनुसार काम गरिएको उनले बताएका छन् । धानखेतीमा भन्दा यसमा आम्दानी लिन सजिलो र बढी आम्दानी हुने भएकाले खेती गरिएको हो ।




.gif)





