म्याग्दी, २४ असोज । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेको छ । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उनीहरूलाई सताएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए ।
“यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।”
शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उहाँहरूको योजना छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ । “ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने ।
डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लाग्नुभएको छ । उहाँहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ गएका हुन ।
रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ । भेडाच्याङ्ग्रापालन नै मुख्य पेसा भएकाले उनीहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्छन । तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनायो । यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुप¥यो । सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो ।
डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन ।
“भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पु¥याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उनले भने ।
सडक अवरुद्ध हुँदा किसानलाई सास्ती
दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ ।
मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँ लगायत सहरमा पठाउन थालिएको छ । यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए ।
तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।
कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ । गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।
लागत बढ्यो
यात्रा लामो हुँदा किसान र ब्यापारीको खर्च बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भयो ।
“किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उहाँले भन्नुभयो । मुस्ताङमा आकार अनुसार भेडा प्रतिगोटा रु। ३२ हजारदेखि रु। ३५ हजार र च्याङग्रा प्रतिगोटा रु.४० हजारको हाराहारीमा खरिदबिक्री भइरहेको ब्यापारीहरुले बताएका छन् । बेनीमा भने भेडा प्रतिगोटा करिब रु। ३६ हजार र च्याङ्ग्रा रु। ४५ हजार पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताएका छन् ।
“पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उनले भने “महाँगो परेपनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ ।” मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा र काठमाडौँ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताएका छन् ।
च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताएका छन् । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।
तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् ।
दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन् । तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ । लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।




.gif)





