images

२०८३ आश्विन २७ गते

images
images
images

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • लमजुङ, २७ असोज । कुनै समय घटस्थापनासँगै लमजुङका गाउँबस्तीमा नगरा घन्किन्थ्यो ।  नगरा बजाउँदै घरघर पुग्ने चलनले दसैँ आएको सङ्केत दिन्थ्यो र गाउँमा चाडपर्वको रौनक थपिन्थ्यो । पछिल्लो समय नगरा बजाउने चलन हराउँदै जाँदा दसैँसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा नै सङ्कटमा पर्न थालेको छ । 

    images
    images

    लमजुङको सदरमुकाम बेँसीसहर नगरपाालिका–३ गाउँसहरस्थित लमजुङ दरबार परिसरमा रहेको कालिका मन्दिरमा भने घटस्थापनादेखि नगरा बजाउने परम्परा अझै कायम छ । 

    मन्दिरका मुख्य पुजारी सोमराज बरालका अनुसार तत्कालीन दरबारसँगै कालिका मन्दिर स्थापना भएको थियो । दरबारमा सुरु भएको नगरा बजाउने परम्परा पछि गाउँबस्तीमा फैलिएको उनले बताएका छन्। 
     
    मन्दिरमा घटस्थापनादेखि बिहान र बेलुका नगरा बजाइन्छ । बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा न्वागी खाने दिनमा यसको विशेष महत्व रहने मुख्य पुजारी बरालले बताएका छन्। 
     
    उनका अनुसार दरबारमा मङ्गलधुनको लयमा नगरा बजाइने भए पनि गाउँबस्तीमा स्थानीय चलन अनुसारका फरकफरक हुने गर्दथ्यो । 

    images
    images

    “पहिले नगरा बजाउन जान्ने मानिस धेरै थिए, अहिले यो सीप भएका मानिस घट्दै गएका छन”, उनले भने, “नगरा बजाउन सिक्न समय लाग्छ र बाजासमेत महँगो पर्ने भएकाले नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको छ ।” 

    उनले परम्परालाई निरन्तरता दिन युवालाई सीप सिकाउनुका साथै सरकारीस्तरबाट संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्। बेँसीसहर नगरपालिका–१ उदिपुरका स्थानीय कृष्णप्रसाद अधिकारीका अनुसार उदिपुर क्षेत्रमा अहिले नगरा बजाउन जान्ने मानिस दुई–तीन जना मात्रै बाँकी छन् । 

    बेँसीसहर नगरपालिका–३ बोहोराबेँसीका स्थानीय राजेन्द्र बोहोराका अनुसार केही वर्षअघिसम्म बोहोराबेँसी, बेँसी र बकुण्डे गाउँमा नगरा बजाउने टोली घरघर पुग्थ्यो । अहिले भने त्यो चलन हराउँदै गएको छ । नगरा बजाउने टोली गाउँमा देखिन छाड्नु र त्यसको आवाज सुनिन छाड्नुले दसँैको पुरानो परम्परा खण्डित बन्दै गएको उनको भनाइ छ । 

    मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका स्थानीय लोकनाथ घिमिरेले पनि पहिले गाउँमा नगरा बजाउने चलन रहे पनि केही वर्षयता यसको आवाज सुन्न नपाइएको बताएका छन्। 
     
    “नगरा बजेको सुन्दा दसैँ आएको अनुभूति हुन्थ्यो”, उनले भने ।  बेँसीसहर नगरपालिका–३ मोतिराम परियारका अनुसार नगरा बजाउने परम्परा परियार समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ ।

    विगतमा दसैँका बेला घरघर पुगेर नगरा बजाउने र त्यसबापत घरधनीबाट अन्न तथा पशु काटेपछि मासु पाउने चलन रहेको उनले स्मरण गरे । पुरानो पुस्ताका धेरैको निधन हुनु, उमेरका कारण कतिपयले नगरा बजाउन नसक्नु र युवापुस्ताको चासो घट्नुले परम्परा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँसहरको कालिका मन्दिरमा नगरा बजाउने परम्परा कायम रहे पनि गाउँबस्तीमा यसको अभ्यास खुम्चिँदै गएको छ । 

    दसैँको आगमनसँगै जोडिएको यो सांस्कृतिक परम्परा जोगाउन नगरा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । पुरानो पुस्ताको ज्ञान र सीपको संरक्षण गर्दै युवाको सहभागिता बढाउनसके मात्रै नगरा बजाउने परम्परालाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend