डडेल्धुरा, असोज २६ । नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको चहलपहल बढ्न थालेको छ। रोजगारी तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू मान्यजनको हातबाट टीका र जमरा थाप्न जन्मथलो फर्किरहेका छन्। तर दसैँको उमङ्ग र मौलिक संस्कृतिसँग जोडिएको परम्परागत पिङ राख्ने चलन भने पछिल्लो समय हराउँदै जान थालेको छ।
कुनै समय दसैँ आउनुभन्दा एक साताअघिदेखि नै गाउँघरमा पिङ राख्ने तयारी सुरु हुन्थ्यो। पिङका लागि बाँस र लिङ्गा खोज्ने, बाबियोबाट डोरी बाट्ने तथा टोलका मानिसहरू मिलेर पिङ निर्माण गर्ने चलन थियो। पिङ तयार भएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म जम्मा भएर खेल्ने गर्थे। दसैँको समयमा पिङ खेल्ने ठाउँ गाउँघरको भेटघाट, रमाइलो र आपसी सद्भावको केन्द्र बन्ने गरेको थियो।
तर अहिले परम्परागत पिङ गाउँघरमा समेत कम देखिन थालेका छन्। कतैकतै फाट्टफुट्ट पिङ राख्ने गरिएको भए पनि विगतमा जस्तो टोलैपिच्छे पिङ निर्माण गर्ने उत्साह घट्दै गएको स्थानीयवासी बताउँछन्।
चार वर्षअघि रोजगारीका लागि भारतको ब्याङ्गलोरमा बसेर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकलाई पनि यस वर्षको दसैँ पहिलेभन्दा केही खल्लो लागेको छ। वर्षौंसम्म भेट नभएका साथीभाइसँग पुनर्मिलन हुँदा रमाइलो लागे पनि चाडपर्वसँग जोडिएका मौलिक परम्परा संरक्षण नहुँदा दसैँको पुरानो रौनक घट्दै गएको उनको अनुभव छ।
आलिताल गाउँपालिका–४ का जोगराज भट्टका अनुसार पहिले सहरबजारमा पिङ राख्ने चलन घट्दै गएको थियो। अहिले गाउँघरमा पनि त्यही अवस्था देखिन थालेको छ।
“सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले। यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ,” भट्टले भने, “पिङ राख्ने भनेपछि टोलछिमेकका सबै जम्मा हुने गर्थ्यौँ। वर्षौंसम्म नभेटिएका साथीहरू दसैँमा पिङ खेल्ने ठाउँमा भेटिन्थे। बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो। पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थालेको छ।”
प्रविधि र बदलिँदो जीवनशैलीको प्रभाव
पिङ राख्ने परम्परा घट्नुमा बदलिँदो जीवनशैली, मनोरञ्जनका नयाँ विकल्प र प्रविधिको बढ्दो प्रयोगलाई स्थानीयवासीले प्रमुख कारणका रूपमा लिएका छन्। बजार क्षेत्रमा सार्वजनिक स्थानको अभाव, व्यस्त दैनिकी र सामाजिक सञ्जालमा रमाउने प्रवृत्तिले पनि परम्परागत गतिविधिप्रति चासो कम हुँदै गएको उनीहरूको भनाइ छ।
अमरगढी नगरपालिका–३ की गीताञ्जली साउदका अनुसार पहिले टोलटोलमा पिङ राख्ने चलन थियो। अहिले भने सिङ्गो गाउँमा समेत पिङ खोज्न मुस्किल हुन थालेको छ। यसले दसैँको सामूहिक रमाइलो र आपसी भेटघाटको परम्परा कमजोर बन्दै गएको देखाउँछ।
फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा मानिसहरूको समय बित्ने क्रम बढेसँगै सामूहिक रूपमा गरिने परम्परागत गतिविधि ओझेलमा पर्दै गएको स्थानीयको अनुभव छ। पहिले पिङ खेल्नकै लागि साथीभाइ र छरछिमेकी भेला हुने गरे पनि अहिले त्यस्तो जमघट कम हुँदै गएको उनीहरू बताउँछन्।
बाबियोको डोरीदेखि फूलले सिँगारिएको पिङसम्म
परम्परागत लिङ्गेपिङ निर्माण गर्नु गाउँघरमा सामूहिक श्रम र सहकार्यको उदाहरणसमेत थियो। चार दिशामा बाँस गाडेर बलियो संरचना बनाइन्थ्यो। बजारमा पाइने लट्ठा उपलब्ध नभए बाबियोबाट डोरी बाटेर पिङ तयार गरिन्थ्यो। पिङको माथिल्लो भागमा सयपत्री र लालुपातेजस्ता फूल राखेर सिँगार्ने चलन थियो।
यसरी सजाइएको पिङ गाउँघरको आकर्षण बन्ने गर्थ्यो। पिङ निर्माणमा युवा, वृद्ध र बालबालिकासमेत आ–आफ्नो तरिकाले सहभागी हुन्थे। पिङ तयार भएपछि सबै उमेर समूहका मानिसले खेल्ने गरे पनि युवाहरूमा विशेष उत्साह देखिन्थ्यो।
अजयमेरु गाउँपालिका–३ का ८५ वर्षीय पदम एडीका अनुसार पहिले दसैँ आउनुभन्दा एक साताअघिदेखि नै पिङ निर्माणको तयारी हुन्थ्यो।
“पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने र बजारमा पाइने लट्ठा नभए बाबियो काटेर डोरी बाट्ने चटारो हुन्थ्यो। अहिले ती सबै कुरा नौलो जस्तो बनेका छन्,” उनले भने। उनका अनुसार गाउँघरमा पिङ राख्ने चलन घट्दै जानु पुरानो संस्कृतिबाट नयाँ पुस्ता टाढिँदै गएको संकेत पनि हो।
दसैँमा पिङ खेल्ने जनविश्वास
दसैँमा पिङ खेल्नु मनोरञ्जनको माध्यम मात्र नभई नेपाली समाजको सांस्कृतिक परम्परासँग पनि जोडिएको छ। विशेषगरी दसैँको टीकाको दिन कम्तीमा एकपटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ।
यही विश्वास र परम्पराले दसैँमा पिङको महत्त्वलाई थप विशेष बनाएको छ। बालबालिकाका लागि खेल्ने अवसर, युवाका लागि भेटघाट र वृद्धवृद्धाका लागि पुराना सम्झना ताजा बनाउने माध्यमका रूपमा पिङको आफ्नै स्थान रहँदै आएको छ।
तर पिङ राख्ने चलन घट्दै जाँदा यससँग जोडिएका अनुभव, सामूहिक श्रम र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्याससमेत कमजोर बन्ने चिन्ता बढेको छ। परम्परागत पिङ हराउनु भनेको एउटा खेल हराउनु मात्र नभई गाउँघरको सामूहिक जीवनशैली र चाडपर्वको मौलिक रौनक घट्नु पनि हो।
मौलिक परम्परा जोगाउने चिन्ता
अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडपर्वमा राखिने पिङसँगै मौलिक परम्परा पनि हराउँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय मानिसहरू सामाजिक सञ्जालमा बढी व्यस्त हुने गरेको र परम्परागत गतिविधिप्रति चासो घटेको उनको भनाइ छ।
परम्परागत पिङलाई निरन्तरता दिन स्थानीय समुदाय, युवा पुस्ता र सम्बन्धित निकायको पहल आवश्यक देखिन्छ। गाउँटोलमा सामूहिक रूपमा पिङ निर्माण गर्ने, नयाँ पुस्तालाई यसको सांस्कृतिक महत्त्व बुझाउने र सुरक्षित रूपमा पिङ खेल्ने वातावरण बनाउने प्रयासले यो परम्परा जोगाउन सहयोग पुर्याउन सक्छ।
दसैँ केवल टीका र जमरामा सीमित पर्व होइनस यो आफन्तसँगको भेटघाट, सामाजिक सद्भाव र पुस्तौँदेखि चल्दै आएका सांस्कृतिक अभ्याससँग पनि जोडिएको छ। त्यसैले पिङजस्ता परम्परालाई संरक्षण गर्न सके दसैँको मौलिकता र गाउँघरको सामूहिक रौनकलाई आगामी पुस्तासम्म पुर्याउन सकिने अपेक्षा गर्न सकिन्छ।




.gif)





