काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउने उद्देश्यसहित आफूले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको पाण्डेले बताएका छन्।
पाण्डेका अनुसार पार्टीभित्र र बाहिरबाट कांग्रेसको आन्तरिक एकता तथा संगठन सुदृढीकरणको आवश्यकता औंल्याइँदै आएको छ। पार्टीका विभिन्न तह र पुस्ताका नेता–कार्यकर्ताबीच संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा समन्वय कायम गर्नु आफ्नो प्राथमिकता रहने उनले बताएका छन्।
तीन पटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका पाण्डेले चार दशकभन्दा बढी समय पार्टीको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै युवा पुस्तासँगको सहकार्यलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताएका छन्।
“हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,” उनले भनेका छन्।
सुशासन र संगठन सुदृढीकरणमा जोड
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका रूपमा काम गर्दा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको पाण्डेको भनाइ छ।
पार्टी संगठन तथा सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनात्मक एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आफ्नो आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिने उनले बताएका छन्।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ। महाधिवेशनको निर्वाचन प्रक्रियाका लागि विभिन्न तहका अधिवेशन सम्पन्न भइसकेका छन्।
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका विभिन्न नेताहरूले पदाधिकारीमा उम्मेदवारी घोषणा गरिरहेका छन्। यसअघि नेता दीपक गिरीले पनि उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पाण्डेले भने महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वास व्यक्त गरेका छन्।




.gif)





