काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा सहभागी हुन विदेश जाने भएपछि संघीय संसद्को अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको खुलेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सुरुमा संसद् अधिवेशन अन्त्य गर्ने विषय औपचारिक रूपमा समावेश थिएन। बैठकपछि सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको निर्णय विवरणमा पनि अधिवेशन अन्त्यको विषय उल्लेख गरिएको थिएन।
तर, मन्त्रिपरिषद् बैठक सकिएपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह र महासचिव पाण्डेले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई पटक–पटक टेलिफोन गरी अधिवेशन अन्त्यका लागि आग्रह गरेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ। उनीहरूको विदेश भ्रमण तय भइसकेकाले अधिवेशन अन्त्य गर्न आग्रह गरिएको र त्यसपछि प्रधानमन्त्री शाह सहमत भएको स्रोतले जनाएको छ।संसद् अधिवेशन अन्त्यको सिफारिसबारे केही मन्त्रीहरू भने अनभिज्ञ रहेको बताइएको छ। उनीहरू आफ्ना मन्त्रालयसँग सम्बन्धित विधेयक संसद्मा दर्ता गर्ने तयारीमा थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको जानकारी पाएपछि आफूहरू अचम्मित भएको एक मन्त्रीले बताएका छन्।
ती मन्त्रीका अनुसार उनको मन्त्रालयबाट दुईवटा विधेयक संसद्मा दर्ता गर्ने तयारी भइरहेको थियो। मंगलबारको मन्त्रिपरिषद् बैठकमा समेत संसद् अधिवेशन अन्त्य गर्ने विषयमा छलफल नभएको उनको भनाइ छ।सभामुख अर्याल र महासचिव पाण्डेसहितको टोली अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा सहभागी हुन तान्जानिया जाने तयारीमा छ। संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले आइतबार सभामुख, महासचिवलगायतको टोली विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको जानकारी दिएका थिए।




.gif)





