माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथ प्रदर्शक सम्पर्क विहीन भएका छन् ।
काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथ प्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्क विहीन भएपछि खोजी कार्य सुरु गरिएको माच्छापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।
उहाँका अनुसार आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई साँझ तामाङ लडेको जानकारी दिएका थिए । सम्पर्क विहीन भएका उनको खोजीका लागि मंगलबार बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका छन् ।
टोली हेलिकप्टरबाट घटनास्थलको निरीक्षण पछि स्थानीय पर्यटन व्यवसायी सहितको उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थल तर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए । ुएक विदेशी सहित पाँच जना मर्दी आरोहणका लागि आएको र विदेशीलाई आरोहण गराउने क्रममा मुख्य पर्यटक गाइड लालबहादुर लडेको जानकारी पछि हामी खोजीका लागि मर्दी बेसक्याम्प आइपुगेका छौँ । हेलिकप्टरबाट घटनास्थल पहिचान गरेपछि खोजीका लागि टोली पैदल गएको छ । यहाँको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या छ,ु वडाध्यक्ष क्षेत्रीले भने ।
तामाङ सम्पर्क विहीन भएको स्थान समुद्री सतह देखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ ।




.gif)





