images

२०८३ आश्विन २० गते

images
images
images

कञ्चनजङ्घामा पर्यटकको सङ्ख्या वृद्धि हुँदा पर्यटन व्यवसाय चलायमान

कञ्चनजङ्घामा पर्यटकको सङ्ख्या वृद्धि हुँदा पर्यटन व्यवसाय चलायमान

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं ।  पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।  आठ हजार पाँच सय ८६  मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो  ।  आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।

    images
    images

    वर्षभरि कञ्चनजङ्घा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन् । पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मङ्सिरसम्म चल्छ । यस वर्षको भदौदेखि सुरु भएको याममा हालसम्म करिब सात सय ५० विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा पुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी (चेकपोष्ट) कार्यालयको तथ्याङ्क छ । आन्तरिक पर्यटकको सङ्ख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन् ।

    परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाजस्ता देशबाट पर्यटक आएका छन् । गत वर्षका तुलनामा यस वर्ष अझ बढी पर्यटक आएका छन्, यसले स्थानीय व्यवसायीलाई पनि उत्साहित बनाएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । 

    images
    images

    कञ्चनजङ्घा भ्रमणमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको छ । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको ठूलो उपस्थिति देखिएको छ । दसैँतिहारका बेला विशेषगरी स्थानीय र नेपाली पर्यटकले परिवारसहित कञ्चनजङ्घा आधार शिविरको यात्रा गर्दछन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज पूर्ण रूपमा भरिएका थिए । 

    सदरमुकाम फुङ्लिङका  होटल सञ्चालक विमल भण्डारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा २० प्रतिशत वृद्धि भएको छ । उनले भने, “कञ्चनजङ्घा भ्रमणका लागि आएका पर्यटकले हाम्रो होटल व्यवसायलाई चलायमान बनाएको छ ।”

    कञ्चनजङ्घा क्षेत्रमा बढेको पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ । होटल, रेस्टुराँ, ट्रेकिङ गाइड, पोर्टर र हस्तकला व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होेटलमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यसपटकको सिजनमा होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

    पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार कञ्चनजङ्घा पर्यटक आगमनले ट्रेकिङ गाइड र पोर्टर पनि लाभान्वित भएका छन् । त्यस्तै यातायात व्यवसायीसमेत लाभान्वित भएका छन् । मौसम प्रतिकूल नभएसम्म गाइड र पोर्टरले राम्रो आम्दानी गर्ने अवसर पाउँछन् । पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार विदेशी पर्यटक प्रायः लामो अवधि बस्ने हुँदा गाइड, पोर्टर र टेन्सनको माग पनि बढेको छ । 

    कञ्चनजङ्घा क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरक्षण तथा प्रवर्द्धन गतिविधि चलाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय छन् ।

    पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्, जसमा हिमाली पर्वतारोहण मेला, सांस्कृतिक महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीजस्ता कार्यक्रम समावेश छन् । यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आवतजावत गर्ने मुख्य दुई सिजन भए पनि असार र साउनमा वर्षाका कारण ट्रेकिङ मार्ग अवरुद्ध हुने समस्या रहन्छ । यसबाहेक पुस, माघ र फागुनमा हिमपातले गर्दा ट्रेकिङ मार्ग कठिन बन्छ, जसले गर्दा पर्यटकको आगमनमा कमी आउने गरेको घुन्सा क्षेत्रमा होटल सञ्चालक कान्छा शेर्पाले बताए । 

    कञ्चनजङ्घा क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ विभिन्न योजना निर्माण भइरहेका छन् । स्थानीय प्रशासन र पर्यटन व्यवसायीको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गर्न पहल हँुदै आएको छ । पर्यटन सहायक शेर्पाका अनुसार नयाँ पदमार्गको विकास, सुरक्षित आवास सुविधा र मार्गनिर्देशिका तयार पार्न विशेष योजना बनाइएको छ । 

    यसका साथै पर्यटकको सुविधाका लागि आधार शिविर क्षेत्रमा वाइफाइ, प्राथमिक उपचार केन्द्र र पर्यावरणमैत्री शौचालयको व्यवस्थापनमा ध्यान दिइएको छ । कञ्चनजङ्घा क्षेत्र नेपालको एक महत्त्वपूर्ण पर्यटकीय सम्पदा हो, जसले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यामा भएको वृद्धिले स्थानीय व्यवसायलाई चलायमान बनाएको छभने रोजगारका अवसर पनि बढेका छन् । पछिल्लो समयमा जलवायु परिवर्तन र मौसमको अनिश्चितताले दीर्घकालीन चुनौती सामना गर्नुपर्ने देखिन्छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend