काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चीनमा फसेका नेपालीहरू क्रमशः नेपाल फर्किरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट ५३६ नेपाली नेपाल फर्किएका छन्।आज १०६ जना नेपाल फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकहरूको सुरक्षित फिर्तीका लागि मन्त्रालयले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ३९६ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पछिल्लो चार दिनमा चार जनाको जीवितै उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जना नेपाली, त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक र बेत्रावतीको एक घरबाट एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
३५ देशका करिब ६०० विदेशी नागरिकसहित करिब पाँच हजार जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ३५५ वटा शव फेला परेका छन्।प्रभावकारी खोज, उद्धार तथा राहत कार्यका लागि स्वदेशी तथा विदेशी विशेषज्ञहरू परिचालन भएका छन्। अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले स्वयं समन्वय गरिरहेका छन्। परराष्ट्रमन्त्री खनाललाई आज माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले टेलिफोन गरी सहयोग र समन्वयका विषयमा कुराकानी गरेकी थिइन्।भारत, चीन र कोरिया गणतन्त्रका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम जारी राखेका छन्। संयुक्त अरब इमिरेट्स र मलेसियाका टोलीहरू पनि खोज तथा उद्धार कार्यमा परिचालित छन्।
माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी राख्न थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयले उच्च क्षमताका ड्रोन, लिडार, बेली ब्रिज, महामारी नियन्त्रणका सामग्री, डीएनए परीक्षण किट, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशाला फ्रिजर तथा हिलो/सुरुङ उद्धार सुटलगायतका सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग थप आग्रह गरेको छ।नेपालले आफ्ना सबै स्रोतसाधन परिचालन गरेको बताउँदै परराष्ट्र मन्त्रालयले विपद्को आकार र जटिलताका कारण निरन्तर अन्तर्राष्ट्रिय एकजुटता र सहयोगको आवश्यकता रहेको जनाएको छ।
हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, कोरिया गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बाङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्रका साथै युरोपेली युनियन, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायतबाट सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ।भारत, चीन, जापान, सिङ्गापुर र कोरिया गणतन्त्रका फरेन्सिक टोलीहरू डीएनए संकलन, विश्लेषण तथा पहिचान कार्यमा संलग्न रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।




.gif)





