जनकपुरधाम। रसुवाको भोटेकोशीमा आएको बाढीले निम्त्याएको विनाशबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि मधेस प्रदेशको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको कार्यालयले १५ दिन बराबरको तलब सहयोग प्रदान गर्ने भएको छ। संसदीय दलमा आबद्ध प्रदेशसभा सदस्य, स्वकीय सचिव तथा कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी बाढीपीडितलाई पठाउने निर्णय गरिएको हो।
संसदीय दलका नेता युवराज भट्टराईले प्रदेशसभाका सचिवलाई पत्र लेख्दै सहयोगको व्यवस्था मिलाउन आग्रह गरेका छन्। पत्रमा उनले लेखेका छन्, ‘रसुवा जिल्लामा बाढीका कारण ठूलो मात्रामा आर्थिक, भौतिक तथा मानवीय क्षतिले सम्पूर्ण देश स्तब्ध भएको छ। यस कठिन परिस्थितिमा बाढीबाट प्रभावित हुन पुगेका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्नु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो।’संसदीय दलका माननीय सदस्यहरू, स्वकीय सचिव लगायत सचिवालयमा कार्यरत अन्य कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी तोकिएको बैंक खातामा जम्मा गराउने व्यवस्था मिलाइदिन नेता भट्टराईले पत्रमार्फत अनुरोध गरेका छन्।रसुवाका बाढीपीडितलाई लक्षित गर्दै मधेस प्रदेशबाट सहयोग पठाउने क्रम ह्वात्तै बढेको छ। देशमा संकट र पीडा परेका बेला सक्दो सहयोग गर्नुपर्छ भन्दै यहाँका सर्वसाधारणदेखि उद्योगपति, व्यवसायी र शिक्षक सबैले आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन्।




.gif)



