काठमाडौं । रक्षाबन्धन तथा जनैपूर्णिमा नजिकिँदै गर्दा बजारमा विभिन्न प्रकारका राखी भित्रिएका छन्। यसैक्रममा नेपाली स्टार्टअप कम्पनी ‘स्विनो’ले नेपाली सीप र मौलिकता झल्कने हातले बनाइएका राखी बजारमा ल्याएको छ। बालबालिका तथा युवाको रोजाइलाई ध्यानमा राख्दै स्विनोले स्पाइडरम्यानलगायत विभिन्न सुपरहिरोको थिममा आधारित आकर्षक राखी सार्वजनिक गरेको हो। हातले बनाइएका यी राखीमा नेपाली हस्तकलाको मौलिकता झल्काउने प्रयास गरिएको कम्पनीले जनाएको छ।
स्विनोले राखीसँगै हातले बनाइएका ब्याग, गहना तथा कपालमा प्रयोग हुने सामग्रीसमेत उत्पादन गर्दै आएको छ। कम्पनीले महिलाभित्र रहेको सीपलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने उद्देश्यले महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।‘स्विनो’की फाउन्डर सविना महर्जनले आफूहरुले इच्छुक महिलालाई समेत विभिन्न हस्तकला सीपसम्बन्धी तालिम तथा प्रशिक्षण दिँदै आएको जानकारी दिइन् । स्विनोका उत्पादन इन्स्टाग्राममार्फत अनलाइन अर्डर गर्न सकिने र घरमै डेलिभरीको व्यवस्था रहेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना उत्पादनमार्फत नेपाली हस्तकलाको प्रवर्द्धनसँगै महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य राखेको छ।




.gif)



