काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवा स्थित बोर्डर आउटपोस्टमा कार्यरत ४ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । बीओपी टिमुरेमा बाढी पसेको छ । टिमुरेमा कार्यरत ४ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्र बहादुर कार्कीले बताए । उनले भने, ‘सम्पर्क विहीन भएकाहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’
उद्धारका लागी सशस्त्र प्रहरीको एक प्लाटुन फौज नुवाकोटतर्फ पठाइएको छ । स्थलमार्गबाट एक प्लाटुन फौज नुवाकोट पठाइएको डीआईजी कार्कीले बताए ।रसुवा तर्फ हेलिकप्टरमा परिचालन गर्नको लागी अर्को एक प्लाटुन सशस्त्रको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको छ । गोताखोर सहितको सो टोलीलाई हेलिकप्टरमार्फत रसुवा पठाउने तयारी भइरहेको डीआईजी कार्कीले जानकारी दिए ।सशस्त्र प्रहरीका अनुसार भोटेकोशीको बाढी नुवाकोट हुँदै धादिङको आदमघाट पार भएको छ । बाढीका कारण रसुवाको टिमुरे बजारमा ठुलो क्षति भएको छ । बागमती प्रदेशका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारका पाँच–सातवटा घरमात्र बाँकी रहेका छन् ।
त्यस्तै, सशस्त्र प्रहरीले सिनामंगल स्थित विपद् व्यवस्थापन गण र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारमा उद्धार टोली स्ट्याण्डबाई राखेको छ । हलचोक स्थित प्रधान कार्यालयमा पनि उद्धारमा परिचालन गर्नको लागी टोली तयारी अवस्थामा राखिएको सशस्त्रका प्रवक्ता कार्कीले बताए । उनले भने, ‘घाइतेहरुको उपचारको लागी एपीएफ अस्पतालमा १ सय शय्या तयारी अवस्थामा राखिएको छ ।’




.gif)





