काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले सर्वसाधारण तथा लगानीकर्तालाई सेयर धितो कर्जासम्बन्धी व्यवस्थाबारे जानकारी गराउँदै वित्तीय चेतना सन्देश जारी गरेको छ। राष्ट्र बैंकले वित्तीय सचेतना र सुरक्षित वित्तीय कारोबारलाई प्राथमिकता दिँदै यस्ता जानकारीमूलक सन्देश सार्वजनिक गर्दै आएको छ।
राष्ट्र बैंकका अनुसार सूचीकृत कम्पनीको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिइने मार्जिन प्रकृतिको कर्जामा धितोको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० कार्यदिनको औसत अन्तिम मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसलाई आधार मानिन्छ।
यसरी कायम हुने मूल्यको बढीमा ७० प्रतिशतसम्म मात्र सेयर धितो कर्जा उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ। सेयरको बजार मूल्य घटेर धितोको मूल्यमा कमी आएमा बैंक तथा वित्तीय संस्थाले ऋणीलाई थप धितोका लागि जानकारी गराउनुपर्ने व्यवस्था पनि रहेको छ।
राष्ट्र बैंकले धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताबाहेक अन्य ऋणीका लागि सेयर धितो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरेको जनाएको छ। यस्तो सीमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट लिइएको कुल कर्जामा लागू हुन्छ।
केन्द्रीय बैंकले वित्तीय साक्षरतालाई वित्तीय स्थायित्वको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ। बैंक तथा वित्तीय सेवाको प्रयोग गर्दा ऋणी तथा लगानीकर्ताले कर्जाको सीमा, धितो मूल्यांकन, जोखिम र नियामकीय व्यवस्थाबारे पर्याप्त जानकारी राख्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।
राष्ट्र बैंकको वित्तीय चेतना अभियानले सर्वसाधारणलाई वित्तीय निर्णय गर्दा जोखिम बुझेर कारोबार गर्न तथा उपलब्ध वित्तीय सेवाको जिम्मेवार ढंगले प्रयोग गर्न सचेत गराउने उद्देश्य राखेको छ। केन्द्रीय बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘वित्तीय साक्षरता ढाँचा २०७९’ समेत जारी गरिसकेको छ।





.gif)





