काठमाडौं, २२ साउन । राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घ (UNIPHIN) ले नेपालका अस्पताल कर्मचारीहरूको संगठन विस्तार, नेतृत्व विकास तथा श्रमिक अधिकार सुदृढीकरणलाई केन्द्रमा राख्दै "नेपालका अस्पताल कर्मचारीहरूलाई संगठित गर्ने रणनीतिक कार्यशाला" सफलतापूर्वक सम्पन्न गरेको छ।
एकदिने कार्यशालामा युनिफिनसँग आबद्ध १५ वटा अस्पतालका ३५ जना ट्रेड युनियनका उच्च पदाधिकारी तथा नर्सिङ प्राध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अस्पताल क्षेत्रमा संगठन विस्तार, श्रमिक नेतृत्व विकास, श्रमिक अधिकार संरक्षण तथा प्रभावकारी रणनीति निर्माणका विषयमा विस्तृत छलफल र प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
युनिफिनका अध्यक्ष डा. पृथ्वी थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनि एप्रो (UNI APRO) का क्षेत्रीय महासचिव राजेन्द्र आचार्य तथा युनि एप्रोका क्षेत्रीय अर्गनाइजिङ डाइरेक्टर (केयर एन्ड प्रोपर्टी सर्भिस) तिलकजंग खड्काको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र आचार्यले "श्रमिक मुद्दामा आधारित संगठित प्रयास र नेतृत्व पहिचान" विषयमा प्रशिक्षण दिँदै स्वास्थ्य क्षेत्रका श्रमिकहरूलाई एकीकृत रूपमा संगठित हुनुपर्ने आवश्यकता औंल्याए। उनले बलियो संगठन र सक्षम नेतृत्वले मात्र श्रमिक अधिकारको प्रभावकारी संरक्षण गर्न सक्ने धारणा व्यक्त गरे।
त्यस्तै, तिलकजंग खड्काले "रणनीतिक अस्पताल नक्साङ्कन, लक्ष्य निर्धारण तथा शक्ति विश्लेषण" विषयमा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालमा संगठन विस्तारका व्यावहारिक रणनीति, प्राथमिकता निर्धारण र संगठनात्मक क्षमता अभिवृद्धिका उपायबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा नर्सिङ उपप्राध्यापक सीता रिजाल र मीना पौडेलले "वर्तमान राजनीतिक सन्दर्भमा नेपालका अस्पतालहरूमा कार्यरत नर्सहरूको कार्यअवस्था" विषयमा प्रस्तुति दिएका थिए। उनीहरूले नेपालको नर्सिङ जनशक्तिको वर्तमान अवस्था, सेवा–सुविधा, पेशागत चुनौती तथा सुधारका सम्भावित रणनीतिबारे विस्तृत छलफल गराएका थिए।
युनिफिनका उपाध्यक्ष समशेर नेपालीले समूह छलफलमार्फत संगठनको आगामी डेढ वर्षे कार्ययोजना पारित गराएका थिए। कार्यशालाको सुरुआत युनिफिन युवा समितिकी कल्पना योगीले स्वागत मन्तव्यबाट गरेकी थिइन् भने सहअध्यक्ष दिनेश पोखरेलले सहभागीहरूको परिचय गराउँदै कार्यक्रमको उद्देश्य र युनिफिनको भूमिका प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी ट्रेड युनियन प्रतिनिधिहरूले यस्ता रणनीतिक कार्यशालाले स्वास्थ्य क्षेत्रका श्रमिकहरूलाई संगठित हुन, नेतृत्व विकास गर्न तथा श्रमिक अधिकारका विषयमा साझा धारणा बनाउन महत्वपूर्ण योगदान पुगेको बताएका थिए। उनीहरूले आफ्ना–आफ्ना अस्पतालमा संगठन विस्तार र सुदृढीकरणलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
युनिफिनले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रका श्रमिकहरूको क्षमता अभिवृद्धि, संगठन सुदृढीकरण, सामाजिक संवादको प्रवर्द्धन तथा श्रमिक अधिकार संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




.gif)





