काठमाडौँ । भारतको विदेश मन्त्रालयअन्तर्गतको सुष्मा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसद्वारा आयोजित १० दिने विशेष तालिम कार्यक्रममा नेपालको परराष्ट्र मन्त्रालयका ३४ जना कर्मचारी सहभागी भएका छन् ।भारतको नयाँ दिल्लीमा साउन ५ गतेदेखि सुरु भएको सो तालिम १५ गते सम्पन्न भएको हो । तालिमबाट सहभागीहरूको विषयगत, कार्यगत तथा व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुगेको विश्वास सुष्मा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसले लिएको छ । तालिममा सहभागीहरूलाई राजनीति, कूटनीति, व्यापार, प्रविधि, दक्षिण एसियाली मामिला, कार्यगत दक्षता, पर्यटन, सांस्कृतिक कूटनीति एवं वातावरणीय कूटनीतिका विषयमा जानकारी गराइएको थियो । साथै, कूटनीतिका आधारभूत ज्ञानका साथै व्यावहारिक कार्यशाला पनि सञ्चालन गरिएको थियो । सहभागीहरूलाई दिल्ली तथा आगराका प्रमुख संस्था एवं सांस्कृतिक स्थलहरूको प्रत्यक्ष अवलोकन भ्रमण गराइएको इन्स्टिच्युटले जनाएको छ ।
तालिमको सुरुवात भूराजनीतिक अवस्थाको छलफलबाट गरिएको थियो, जहाँ नेपाल, भारतलगायत विश्व परिवेशमा देखिएका भूराजनीतिक परिदृश्यबारे जानकारी गराइयो । राजदूत अशोक मुखर्जीले बहुपक्षीय कूटनीतिको विश्लेषण गर्दै सन् २००६ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको नेपालको शान्ति प्रक्रियालाई ‘केस स्टडी’का रूपमा प्रस्तुत गरी सहभागीहरूलाई अभ्यास गराएक थिए । त्यस्तै, कूटनीतिज्ञ पंकज मिश्रले व्यावहारिक विकास ढाँचा तथा ‘र्यापिड रेस्पोन्स सेल’बारे स्पष्ट पारेका थिए। उनले भारतको मानवकेन्द्रित विकास साझेदारी र मानवीय सहायताबारे पनि विशेष जानकारी गराए ।
भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महवाराले व्यापार मोडलअन्तर्गत आर्थिक कूटनीति र रणनीतिहरूका विषयमा प्रकाश पारेका थिए । उनले नेपाल–भारत द्विपक्षीय सम्बन्धको पछिल्लो वस्तुस्थिति प्रस्तुत गर्दै आफ्नो विगतको नेपाल भ्रमणका अनुभवका आधारमा दुई देशको सम्बन्धको विगत र भविष्यको समीक्षा गरे । महवाराले विगत दुई दशकमा नेपाल–भारतबीच भएका द्विपक्षीय सहकार्यका मुख्य आयोजनाहरूको रूपरेखासमेत प्रस्तुत गरेका थिए । इन्डियन इन्स्टिच्युट अफ फरेन ट्रेडका प्राध्यापक अभिजित दासले नेपाल अति कम विकसित मुलुकबाट कसरी स्तरोन्नति हुन सक्छ र हालसम्म स्तरोन्नति हुन नसक्नुका कारणबारे अध्यापन गराएका थिए । त्यसैगरी, रिसर्च एन्ड इन्फर्मेसन सिस्टम फर डेभलपिङ कन्ट्रीजका प्राध्यापक प्रबिर देले छिमेकी मुलुकहरूसँगको व्यापार तथा कनेक्टिभिटीका ढाँचाबारे जानकारी दिए ।




.gif)





