काठमाडौं । औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई लक्षित गर्दै काठमाडौंमा ‘रोड शो’ आयोजना गर्दै प्रतिकित्ता ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरेको छ।काठमाडौंस्थित होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा करिब १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीको वित्तीय अवस्था, व्यवसाय विस्तार, भावी रणनीति तथा बुक बिल्डिङ प्रक्रियाबारे प्रस्तुति दिइएको थियो।
सहभागीलाई आशयपत्र (इन्डिकेसन अफ इन्ट्रेस्ट) फारमसमेत वितरण गरिएको थियो। उक्त फारम बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र टाइम फर्मास्युटिकल्सबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।टाइम फर्मास्युटिकल्सले ५३ करोड रुपैयाँ जारी पुँजीको २०.५ प्रतिशत बराबर १० करोड ८६ लाख ५० हजार रुपैयाँको १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ।बुक बिल्डिङ व्यवस्थाअनुसार कुल निष्कासित सेयरमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरिने बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिकित्ता सेयरको औसत मूल्य ६६६ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ। संस्थागत लगानीकर्ताका लागि भने प्रतिकित्ता ६०० रुपैयाँलाई आधार मूल्यका रूपमा प्रस्ताव गरिएको छ।कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरेका अनुसार बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम गत चैत २४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच सिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन सम्झौता भएको थियो। त्यसपछि नेप्सेको संयोजकत्वमा नेप्से, निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकका प्रतिनिधि सम्मिलित समन्वय समिति गठन गरिएको थियो।समितिको पहिलो बैठक असार १ गते बसेपछि असार ११ गते सार्वजनिक सूचना प्रकाशित गरी संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम आयोजना गरिएको थियो। दोस्रो बैठक असार १८ गते बसेर योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सक्ने र असार २९ गते ती बोलपत्र खोलिने कार्यतालिका स्वीकृत गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष डा. जी. नारायणबहादुर क्षेत्रीले करिब २९ वर्षअघि एक करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधि उत्पादनबाट सुरु भएको कम्पनी अहिले ६० करोड रुपैयाँ अधिकृत पुँजी, ३५० भन्दा बढी कर्मचारी र २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने अवस्थामा पुगेको बताए।उनले कम्पनीले नेपालमै पहिलो पटक क्लिनिकल ट्रायल सुरु गरेको जानकारी दिँदै त्यसको प्रतिवेदन पनि छिट्टै सार्वजनिक हुने बताए।कम्पनीले वित्तीय विवरण, प्रारम्भिक विवरणपत्र (ड्राफ्ट प्रस्पेक्टस) तथा मूल्यांकन प्रतिवेदन आफ्नो वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।




.gif)





