काठमाडौं १७ असार । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द भएका छन्। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएपछि पुरानो मौज्दातमा घाटा हुने भन्दै निजी पम्प सञ्चालकहरूले इन्धन बिक्री रोकेका हुन्।
बन्द रहेका पम्पका कारण बिहानैदेखि इन्धन भर्न पुगेका सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। धेरै सेवाग्राही विभिन्न पेट्रोल पम्प धाउँदा पनि इन्धन नपाएर खाली हात फर्किन बाध्य भएका छन्। केही सरकारी तथा सीमित रूपमा सञ्चालनमा रहेका पम्पमा भने लामो लाइन लागेको देखिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले नयाँ मूल्य लागू गरिएको जनाएको छ। निगमले मूल्य समायोजनपछि सबै पम्पलाई नयाँ दरअनुसार नियमित बिक्री वितरण गर्न निर्देशन दिएको भए पनि निजी पम्प सञ्चालकहरूले मौज्दातमा हुने आर्थिक नोक्सानीको कारण देखाउँदै अस्थायी रूपमा बिक्री बन्द गरेका छन्।
उपभोक्ताले मूल्य घटेको सकारात्मक प्रभाव महसुस गर्नुपर्ने समयमा इन्धन अभावको समस्या सिर्जना हुँदा सर्वसाधारण थप मारमा परेका छन्। इन्धन बिक्री बन्द भएपछि यातायात, दैनिक आवतजावत तथा अन्य अत्यावश्यक सेवामा समेत असर पर्न थालेको छ।
सरकार र सम्बन्धित निकायले तत्काल समस्या समाधान गरी नियमित रूपमा इन्धन आपूर्ति सुनिश्चित गर्नुपर्ने माग उपभोक्ताले गरेका छन्। निगमले पनि सबै पेट्रोल पम्पलाई सेवा सुचारु गर्न आवश्यक समन्वय भइरहेको जनाएको छ।




.gif)





