वर्षैपिच्छे घटिरहेको दुईपांग्रे सवारीसाधन आयात विगतको तुलनामा बढेको छ। विगत वर्षमा घटिरहेको दुईपांग्रे सवारीसाधन आयात चालू आर्थिक वर्षको तीन महिनामा उल्लेख्य बढेको हो। हाल नेपाली बजारमा विभिन्न नयाँ ब्रान्डका दुईपांग्रे सवारीसाधन आइरहेका छन्।
नयाँ–नयाँ ब्रान्डको इन्ट्री भएका कारण दुईपांग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म)मा ७१ हजार १ सय युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन्।
यस अवधिमा ८ अर्ब १० करोड रुपैयाँ बराबरको ६८ हजार ५ सय ३२ युनिट इन्धन बाइक नेपाल भित्रिएका हुन्। भने २९ करोड ६० लाख रुपैयाँ बराबरको २५ सय ६८ युनिट विद्युतीय बाइक तथा स्कुटर भित्रिएका हुन्।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको ४३ हजार ४७९ युनिट बाइक तथा स्कुटर नेपाल भित्रिएको थियो। यस अवधिमा ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ४२ हजार १०८ युनिट इन्धन बाइक तथा स्कुटर नेपाल भित्रिएका थिए। १७ करोड रुपैयाँ बराबरको १३७१ युनिट ईभी भित्रिएको तथ्यांक विभागको छ।
विक्रीमा कुन ब्राण्ड अगाडी ?
एक महिनामै कम्पनीहरुले २१ हजार ५६७ थान मोटरसाइकल र स्कुटर विक्री गरेका छन् ।
शीर्ष चार कम्पनीले भदौको तुलनामा १२२ प्रतिशतले ब्यापार बृद्धि गरेका छन्।अहिले पनि दुईपांग्रेको बजारमा होण्डा नै शीर्ष स्थानमा छ। उसका स्कुटरको विक्रीले राम्रो रफ्तार समातेको छ ।
टीभीएसका स्कुटर पनि उल्लेख्य मात्रामा विक्री हुन थालेका छन् । प्रिमियम सेगमेण्टमा रहेको यामाहाका स्कुटरहरुमा आकर्षण त छ, तर उसका खरीदकर्ताको संख्या भने केही कम देखिएको छ । स्कुटर बेच्न नसकेको बजाज मोटरसाइकल सेगमेन्टमा भने देशकै अग्रणीमध्येको पर्छ ।
यी चार कम्पनीले गत भदौमा जम्मा ८ हजार ५० थान सवारी साधन विक्री गरेकोमा असोजमा १७ हजार ९०१ पुगेको छ ।
असोजको आँकडलाई आधार मानेर बजार हिस्सा हेर्ने हो भने होण्डाको २९ प्रतिशत, टीभीएसको २० प्रतिशत, बजाजको १८ प्रतिशत, यामाहाको १६ प्रतिशत र अन्य सबै ब्राण्डको १७ प्रतिशत बजार हिस्सा रहेको देखिन्छ ।
टु ह्वीलर्स व्यवसायीले तिहार र छठको अवसर पर्ने भएका कारण कात्तिकमा पनि विक्री केही माथि नै हुने अनुमान गरेका छन् ।




.gif)





