काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा पेट्रोल र डिजेलको खुद्रा मूल्य भने यथावत् राखिएको छ। विश्व बजारमा इन्धन सस्तो भइरहेका बेला नेपाल आयल निगमले मूल्य समायोजन नगर्दा उपभोक्ताले तत्काल राहत पाउन सकेका छैनन्।

मध्यपूर्वमा युद्ध चर्किएका बेला प्रतिव्यारेल ११० अमेरिकी डलरभन्दा माथि पुगेको ब्रेन्ट क्रुडको मूल्य अहिले ७२–७३ डलरमा झरेको छ। त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य पनि ६९–७० डलरको हाराहारीमा झरेको छ। अघिल्लो महिनाको तुलनामा मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० प्रतिशतभन्दा बढीले घटेको तथ्यांकले देखाएको छ।
यति ठूलो मूल्य गिरावट हुँदा पनि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रत्येक महिनाको १ र १६ गते मात्रै समायोजन गर्ने नीति रहेको जनाएको छ। तर विगतमा भने यही कार्यतालिका पालना नभएको देखिन्छ। विशेषगरी २०८२ चैत महिनामा निगमले एकै महिनाभित्र पाँच पटकसम्म इन्धनको मूल्य बढाएको थियो।
यही कारण मूल्य बढ्दा तत्काल निर्णय गर्ने तर घट्दा विभिन्न प्राविधिक कारण देखाएर ढिलाइ गर्ने प्रवृत्तिप्रति उपभोक्ताले असन्तुष्टि जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटको प्रत्यक्ष लाभ नेपाली उपभोक्तासम्म समयमै पुग्नुपर्ने उनीहरूको माग छ।
यसैबीच, अर्थमन्त्री स्वर्णिम वाग्लेले इन्धनको मूल्य छिट्टै समायोजन हुने संकेत दिएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले मूल्य समायोजन प्रक्रियामा केही समय लाग्ने स्पष्ट पारे। भारतीय पक्षबाट नयाँ मूल्यसूची प्राप्त भएपछि निगमले त्यसअनुसार मूल्य निर्धारण गर्ने उनको भनाइ छ।
इन्धनको मूल्यले सार्वजनिक यातायात, ढुवानी, उद्योग तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उपभोक्ता तथा व्यवसायीले सरकारले शीघ्र मूल्य समायोजन गरी महँगी नियन्त्रणमा पहल गर्नुपर्ने माग गरेका छन्।
अर्थतन्त्रमा सुस्तता र बढ्दो जीवनयापन खर्चबीच अन्तर्राष्ट्रिय बजारमा घटेको इन्धन मूल्यको लाभ नेपाली उपभोक्ताले कहिले पाउने भन्ने प्रश्न अहिले सबैको चासोको विषय बनेको छ।




.gif)





