images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा देशभर १२...

राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा देशभर १२ प्रतिशत मात्रै धान रोपाइँ, मनसुन कमजोर हुँदा कृषक चिन्तित

राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा देशभर १२ प्रतिशत मात्रै धान रोपाइँ, मनसुन कमजोर हुँदा कृषक चिन्तित

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । सरकारले आइतबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरिरहँदा देशभर धान रोपाइँको प्रगति अपेक्षाभन्दा निकै सुस्त देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १२ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको १२.०७ प्रतिशत अर्थात् १ लाख ६६ हजार ९०३ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

    images
    images

    नेपालभर धान खेती हुने कुल क्षेत्रफल १३ लाख ८२ हजार २६२ हेक्टर रहे पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसान अझै रोपाइँ सुरु गर्न सकेका छैनन्। गत वर्ष यही अवधिमा १५.६२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो। यस वर्षको प्रगति गत वर्षको तुलनामा उल्लेख्य रूपमा कम रहेको तथ्यांकले देखाएको छ।

    मनसुन कमजोर, सिँचाइ अभावले रोपाइँ प्रभावित

    images
    images

    बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा का अनुसार नेपालमा मनसुन प्रवेश गरिसकेको भए पनि पर्याप्त सक्रिय हुन नसक्दा किसानले रोपाइँ गर्न आवश्यक पानी पाउन सकेका छैनन्।

    नेपालको अधिकांश धान खेती अझै पनि वर्षामा आधारित रहेकाले सिँचाइ सुविधा सीमित भएका क्षेत्रमा किसान आकासे पानीकै भर पर्न बाध्य छन्। जलवायु परिवर्तनका कारण मनसुनको समय र वर्षाको स्वरूपमा आएको परिवर्तनले यस वर्ष धान खेतीमा प्रत्यक्ष असर परेको उनले बताए।

    देवकोटाका अनुसार हालका मौसमी संकेत र समुद्री सतहको अवस्थाले साउन महिनामा समेत अपेक्षाभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी धान उत्पादनको प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा धेरै किसानले अझै बिउ राख्ने (नर्सरी) कार्यमै सीमित रहेको उनले जानकारी दिए।

    गण्डकीमा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम रोपाइँ

    प्रदेशगत विवरणअनुसार यस वर्ष सबैभन्दा धेरै धान रोपाइँ गण्डकी प्रदेश मा भएको छ। गण्डकीमा कुल धान खेतीयोग्य क्षेत्रफलको २३.६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा करिब १० प्रतिशतले बढी हो।

    त्यसपछि कर्णाली प्रदेश मा २२.८१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यद्यपि गत वर्ष यही समयमा कर्णालीमा ३९ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो।

    लुम्बिनी प्रदेश मा २०.८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने बागमती प्रदेश मा १२.५९ प्रतिशत क्षेत्रमा धान रोपिएको छ।

    यता कोशी प्रदेश मा ८.२५ प्रतिशत, सुदूरपश्चिम प्रदेश मा ९.२६ प्रतिशत तथा मधेश प्रदेश मा जम्मा ५.०१ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। मधेश प्रदेशमा कुल ३ लाख ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म करिब १९ हजार हेक्टरमा मात्रै रोपाइँ भएको केन्द्रको तथ्यांकले देखाएको छ।

    जलवायु परिवर्तनको असर बढ्दो

    कृषि विज्ञहरूका अनुसार पछिल्ला केही वर्षयता असार १५ सम्म धान रोपाइँको प्रगति कमजोर रहने क्रम दोहोरिँदै आएको छ। यसको प्रमुख कारण जलवायु परिवर्तन, अनियमित वर्षा र सिँचाइ पूर्वाधारको अभाव रहेको उनीहरूको भनाइ छ।

    देवकोटाले असार १५ पछि वर्षाको अवस्था सुधार भए मात्रै वास्तविक रोपाइँको प्रगति स्पष्ट हुने बताए।

    भोलि २३औँ राष्ट्रिय धान दिवस

    यसैबीच सरकारले आइतबार "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदैछ।

    हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ। कृषि विभागका अनुसार यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी धान खेतीको महत्व, आधुनिक कृषि प्रविधि तथा खाद्य आत्मनिर्भरताबारे जनचेतना फैलाइनेछ।

    अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान

    नेपालमा कुल ४१ लाख ३१ हजार कृषक परिवारमध्ये करिब २७ लाख ६५ हजार परिवार धान खेतीमा संलग्न छन्। धानले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको योगदान पुर्‍याउँदै आएको छ।

    पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर ३.५० मेट्रिक टनबाट बढेर ४.१९ मेट्रिक टन पुगेको छ। तथापि, नेपाललाई वार्षिक आवश्यक करिब ७० लाख मेट्रिक टन धानमध्ये अझै करिब १० लाख मेट्रिक टन धान अपुग हुने अवस्था रहेको कृषि विभागले जनाएको छ।

    कृषि विज्ञहरूका अनुसार सिँचाइ विस्तार, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, उन्नत बीउ र आधुनिक खेती प्रणालीमा जोड दिन सके मात्रै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend