काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको पाइएको छ।निगमले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार नविन ढुवानी सेवा प्रा.लि.को ट्यांकर नं. को १ ख ६१९० ले मिति २०८३ असार ०६ गते भारतीय आयल कर्पोरेसनको सिलिगुरी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी ल्याएको थियो।
उक्त ट्यांकर २०८३ असार ०७ गते बिहान करिब ८ बजे विराटनगरस्थित डिपो परिसरबाट करिब ३०० मिटर दूरीमा रहेको कञ्चनबारी पार्किङमा राखिएको थियो। तर २०८३ असार ८ गते बिहान ९ बजे ट्यांकर पार्किङस्थलबाट हराएको जानकारी ढुवानीकर्ताले निगमलाई दिएको थियो।त्यसपछि निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराएको थियो। सीसीटीभी फुटेज अनुसार ट्यांकर २०८३ असार ८ गते बिहान ३ बजे पार्किङस्थलबाट बाहिरिएको र नोवेल अस्पतालतर्फ मोडिएको देखिएको निगमले जनाएको छ।खोजीका क्रममा करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा ट्यांकर फेला परेको थियो। त्यहाँ ट्यांकरको ताला (सिल) काटिएको अवस्थामा भेटिएको र प्रहरीको रोहवरमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी हुँदै मोरङ पठाइएको थियो।
पछि सोही ट्यांकरलाई निगमको डिपोमा ल्याई सिल गरी राखिएको थियो।आज अपराह्न १ बजे जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताको उपस्थितिमा ट्यांकर खोल्दा २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको हो। बाँकी १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा जम्मा गरिएको निगमले जनाएको छ।निगमले ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको जनाएको छ।यस घटनाबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले यथार्थ जानकारी नलिई भ्रम फैलाउने सामग्रीप्रति विश्वास नगर्न आग्रह गरेको छ। साथै घटनाको सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको पनि जनाएको छ।




.gif)





