काठमाडौं । चर्चित नेपाली शेफ सन्तोष शाह चेक अनादर सम्बन्धी मुद्दामा पक्राउ परेपछि उक्त विषय राष्ट्रिय बहसको केन्द्र बनेको छ। प्रहरीका अनुसार रेस्टुरेन्ट खरिद–बिक्रीसँग सम्बन्धित आर्थिक कारोबारमा जारी गरिएको चेक बाउन्स भएको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल घटनाबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली पाककलाको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएका शेफ शाहको विषय सार्वजनिक चासोको केन्द्र बने पनि लोकतान्त्रिक समाजमा कुनै पनि व्यक्ति कानून भन्दा माथि नहुने सिद्धान्त उत्तिकै महत्वपूर्ण मानिन्छ। लोकप्रियता, प्रतिष्ठा वा सार्वजनिक छविका आधारमा कसैलाई विशेष व्यवहार गर्न नमिल्ने भएकाले अनुसन्धान र न्यायिक प्रक्रिया निष्पक्ष तथा स्वतन्त्र ढंगले अगाडि बढ्नुपर्ने सरोकारवालाहरूको धारणा छ।
नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ फूड डिक्सनरी’का रचनाकार, लेखक तथा पत्रकार शिव न्यौपानेले पनि अनुसन्धानको प्रारम्भिक चरणमै कसैलाई दोषी वा निर्दोष ठहर गर्नु न्यायिक प्रक्रियाको मर्मविपरीत हुने बताएका छन्। उनका अनुसार अदालतको अन्तिम निर्णय नआउँदा सम्म तथ्य, प्रमाण र कानुनी प्रक्रियालाई सम्मान गर्नु आवश्यक छ।
न्यौपानेले सञ्चारमाध्यमहरूले पनि यस्ता संवेदनशील विषयमा सन्तुलित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । अनुसन्धान जारी रहेको अवस्थामा अपुष्ट सूचना, अनुमान वा भावनात्मक प्रतिक्रियाका आधारमा व्यक्तिको चरित्रहत्या हुने खालका गतिविधिबाट बच्नुपर्ने उनको भनाइ छ।
कानूनको शासनप्रति विश्वास कायम राख्दै अदालत, प्रहरी तथा सम्बन्धित निकायलाई निष्पक्ष रूपमा काम गर्न दिनु लोकतान्त्रिक संस्कृतिको आधार हो। न्यायिक प्रक्रिया सम्पन्न नहुँदासम्म सार्वजनिक बहस तथ्य र प्रमाणमा आधारित हुनुपर्ने तथा अफवाहभन्दा विधिसम्मत प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
यो प्रकरणले कानूनको शासन, निष्पक्ष अनुसन्धान, जिम्मेवार पत्रकारिता र सार्वजनिक संयमको महत्वलाई पुनः उजागर गरेको छ। न्यायिक निष्कर्ष आउनुअघि कुनै पनि व्यक्तिबारे अन्तिम धारणा बनाउनु भन्दा तथ्य, प्रमाण र कानुनी प्रक्रियाको सम्मान गर्नु नै परिपक्व समाजको परिचायक मानिन्छ।




.gif)





