काठमाडौं। नेपालमा पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा पर्यटक आगमन, भ्रमण आय, बसाइ अवधि तथा पर्वतारोहण गतिविधि विस्तार भए पनि प्रतिपर्यटक औसत दैनिक खर्च भने घटेको पाइएको हो ।सन् २०२४ को तुलनामा सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रबाट हुने भ्रमण आय पनि ४ दशमलव ८ प्रतिशतले बढेको छ ।सर्वेक्षणअनुसार सन् २०२४ मा पर्यटन क्षेत्रबाट ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ भ्रमण आय प्राप्त भएको थियो । सन् २०२५ मा उक्त आय बढेर ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
पर्यटकको औसत बसाइ अवधि पनि बढेको छ । सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइ अवधि १३ दशमलव ३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६ दशमलव ३४ दिन पुगेको छ । बसाइ अवधि बढे पनि प्रतिपर्यटक औसत दैनिक खर्च भने घटेको देखिएको छ । सन् २०२४ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४० दशमलव ८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा घटेर ३३ दशमलव शून्य ८ अमेरिकी डलरमा सीमित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीमार्फत अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति स्वचालित रूपमा गणना गर्न थालेपछि औसत खर्चको तथ्यांकमा असर परेको जनाएको छ ।नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै ६० दशमलव २ प्रतिशत पर्यटक विदा तथा मनोरञ्जनका लागि आएका थिए । तीर्थयात्राका लागि १४ दशमलव ४ प्रतिशत, पदयात्रा तथा पर्वतारोहणका लागि १४ दशमलव २ प्रतिशत र व्यापार, अध्ययन तथा अन्य प्रयोजनका लागि ११ दशमलव २ प्रतिशत पर्यटक नेपाल आएका थिए ।यता पर्वतारोहण गतिविधि विस्तारसँगै रोयल्टी आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । सन् २०२४ मा पर्वतारोहणबाट ९२ करोड ५८ लाख रुपैयाँ रोयल्टी संकलन भएकोमा सन् २०२५ मा बढेर १ अर्ब २६ करोड २८ लाख रुपैयाँ पुगेको छ ।




.gif)



