images

२०८३ आश्विन १६ गते

images
images
images

सूर्योदय नगरपालिकामा पठन संस्कृति अभियान

सूर्योदय नगरपालिकामा पठन संस्कृति अभियान

images
images
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • इलाम, ९ जेठ । सूर्योदय नगरपालिका–५ ले सामुदायिक विद्यालयको शिक्षण प्रणालीलाई व्यवहारिक, सिर्जनशील र बालमैत्री बनाउने उद्देश्यसहित नयाँ अभ्यास सुरु गरेको छ । 

    images
    images

    बालबालिकालाई परम्परागत गृहकार्यबाट मुक्त गर्ने, पठन संस्कृति विकासका लागि दुईवर्षे अभियान सञ्चालन गर्ने तथा विद्यालयस्तरमै ‘स्टिम एजुकेसन’ सुरु गर्ने निर्णयलाई यहाँ नवीन र प्रभावकारी शैक्षिक अभ्यासका रूपमा हेरिएको छ ।

    बौद्ध आधारभूत विद्यालयले कक्षा पाँचसम्मका विद्यार्थीलाई अबदेखि परम्परागत होमवर्क नदिने निर्णय गरेको छ । वडाध्यक्ष उर्गेन बम्जनका अनुसार, बालबालिकाको मानसिक तनाव कम गर्दै उनीहरूको बाल्यकाल, सिर्जनशीलता र कल्पनाशक्तिको संरक्षण गर्ने उद्देश्यसहित विद्यालय तथा वडा कार्यालयको पहलमा यस्तो अभियान सुरु गरिएको हो ।

    images
    images

    “अभिभावकलाई बालबालिकालाई मोबाइल, टेलिभिजन तथा ट्याबलेटजस्ता डिजिटल उपकरणबाट टाढा राख्न आग्रह गरिएको छ ।” उनले भने, “फुर्सदको समयमा कथाका किताब पढ्ने, बुझ्ने र रमाउने वातावरण घरमै निर्माण गर्न तथा बेलुकाको समयमा बालबालिकासँग बसेर उनीहरूका कुरा सुन्ने, कथा सुनाउने र कल्पनाशक्तिलाई प्रोत्साहन गर्ने बानी विकास गर्न अभिभावकलाई अनुरोध गरेका छौँ ।”

    यससँगै वडाले पठन संस्कृति विकास गर्न दुईवर्षे अभियान समेत सुरु गरेको छ । अभियानअन्तर्गत सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षकलाई सहभागी गराइएको छ । रचनात्मक लेखन, प्रस्तुतीकरण तथा आलोचनात्मक विश्लेषण सम्बन्धी नियमित कक्षा सञ्चालन गरिने जनाइएको छ । विद्यार्थी र शिक्षकको पठन सीप सुधार गर्ने उद्देश्यले पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा अभियान सञ्चालन गरिएको वडाध्यक्ष बम्जनले जानकारी दिएका छन् ।

    अभियानका सहजकर्ता नरेन्द्र नगरकोटीले पठन संस्कृतिलाई आत्मसात् नगर्दा समाजको रचनात्मक क्षमता कमजोर बन्दै गएको बताएका छन् । “बालबालिकाले पुस्तक पढ्ने कि नपढ्ने भन्ने कुरामा घर, विद्यालय, प्रविधि र समाज सबैको प्रभाव रहन्छ ।” उनले भने, “अभिभावक स्वयंले पढ्ने बानी नदेखाए बालबालिकाले पुस्तकको महत्व बुझ्न सक्दैनन् ।”

    यसैबीच, सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले वडाले समाल्बुङ माध्यमिक विद्यालयमा ‘स्टिम एजुकेसन’सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको छ ।

    विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित समेटिएको ‘स्टिम एजुकेसन’बारे जानकारी दिन कक्षा ८, ९ र १० का ४० विद्यार्थीलाई लक्षित गरी प्रशिक्षण दिइएको हो । परम्परागत घोकन्ते शिक्षाबाट बाहिर निस्केर विद्यार्थीलाई अनुसन्धानमुखी तथा प्रयोगात्मक सिकाइतर्फ उन्मुख गराउन कार्यक्रम सञ्चालन गरिएको कार्यापालिका सदस्य केसर कुमारी पौडेलले बताएका छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले केवल सैद्धान्तिक अभ्यासले मात्र शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भन्दै समूहगत छलफल, अनुभव आदानप्रदान र अनुसन्धानमा आधारित सिकाइ आवश्यक रहेको बताएका छन् ।

    प्रशिक्षणका सहजकर्ता अस्विन जोशीका अनुसार विद्यार्थीलाई विद्युतीय उपकरणको कार्यप्रणाली, स्वचालित प्रणाली निर्माण तथा ‘थ्रिडी प्रिन्टिङ’को प्रयोगबारे व्यवहारिक सिकाइ गराइएको छ । सरकारी विद्यालयमा ‘थ्रिडी प्रिन्टिङ’ अभ्यास दुर्लभ भए पनि वडाले आवश्यक सामग्री उपलब्ध गराएर विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिएको उनले बताएका छन् ।

    “विद्यार्थीले आफूले कल्पना गरेको वस्तु आफैँ डिजाइन र प्रिन्ट गर्न सक्छन्,” उहाँले भन्नुभयो, “यसबाट जीवनोपयोगी ज्ञान र सीप विकास हुनेछ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend