काठमाडौँ । नेपाल प्रहरीअन्तर्गत सञ्चालित विभिन्न नेपाल प्रहरी स्कुलहरूले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना प्रकाशित गरेका छन्। विज्ञान तथा व्यवस्थापन सङ्कायमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरिएको हो।
नेपाल प्रहरी स्कुल साँगा, काभ्रेसहित विभिन्न प्रहरी विद्यालयहरूले अनलाइन आवेदनमार्फत भर्ना प्रक्रिया सञ्चालन गरिरहेका छन्। आवेदन फारम भर्दा विद्यार्थीले आवश्यक कागजातहरूको डिजिटल प्रतिलिपि अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार आवेदनका लागि विद्यार्थीको फोटो, अभिभावकको फोटो, जन्मदर्ता प्रमाणपत्र, एसईईको ग्रेडसिट लगायतका कागजात आवश्यक पर्नेछन्। साथै, प्रहरी कर्मचारीका सन्ततिको हकमा सम्बन्धित सिफारिस पत्र तथा अवकाशप्राप्त प्रहरी परिवारका लागि पेन्सन पट्टाको प्रतिलिपि समेत पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
विद्यालय प्रशासनका अनुसार आवेदन स्वीकृत भएपछि इमेलमार्फत प्रवेशपत्र उपलब्ध गराइनेछ। विद्यार्थी तथा अभिभावकलाई आधिकारिक वेबसाइट तथा सम्बन्धित विद्यालयको सूचनालाई नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।





.gif)





