images

२०८३ आश्विन १६ गते

images
images
images

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • पाँचथर, ३१ वैशाख । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् ।

    images
    images

    फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन ।

    यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् ।

    images
    images

    मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एउटा संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड हुन नसकेको पाइएको छ । 

    यस्तै, फालेलुङ गाउँपालिका–३ स्थित सरस्वती मावि ताङलेपा समेत कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन असफल भएको छ । यस विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

    शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन । जुन कुल सङ्ख्याको ४९ प्रतिशत हो । 

    यस्तै, प्राविधिक धारतर्फ एक सय २२ जना परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन । पाँचथरमा दुई जना विद्यार्थी चार जिपिएसहित ग्रेडेड भएका छन् । यहाँको हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट दुई सय ४८ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ३४ जना ग्रेडेड भएका छन्, जुन ५४ प्रतिशत हो । यहाँको सिद्ध मावि पञ्चमीबाट सबैभन्दा बढी ३८ र सबैभन्दा कम सिद्धकाली मावि किवाबाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । हिलिहाङको नीलगिरि माविले सबैभन्दा बढी १७ जना विद्यार्थीमध्ये १६ जनालाई उत्तिर्ण गराउन सफल भएको हिलिहाङ गाउँपालिका शिक्षा शाखाका प्रमुख राजन आचार्यले जानकारी दिएका थिए ।

    यस्तै, कुम्मायक गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट एक सय ६० जना परीक्षामा सामेल भएकामा ६३ जना ग्रेडेड भएका छन्, जुन ३९ प्रतिशत हो । यहाँको पृथ्वी मावि यासोकबाट सबैभन्दा बढी ६६ र खाल्डे मावि खाल्डेबाट सबैभन्दा कम नौ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । खाल्डे माविले नौमध्ये आठ जना विद्यार्थीलाई उत्तीर्ण गराएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जानकारी दिएका छन ।

    जिल्लाको याङवरक गाउँपालिका नतिजामा निकै कमजोर देखिएको छ । यहाँका सात वटा विद्यालयबाट दुई सय ४३ जना विद्यार्थी परीक्षामा सामेल भएकामा केवल ६५ जना ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो । यहाँको थर्पू माविबाट सबैभन्दा बढी ६८ र नारायणी माविबाट सबैभन्दा कम १४ जना विद्यार्थी परीक्षामा सामेल थिए ।

    तुम्बेवा गाउँपालिकाले सन्तोषजनक नतिजा निकालेको छ । यहाँका छ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो । यहाँका इन्द्राणी माविबाट सबैभन्दा बढी ६३ जना र वुद्धेश्वरी माविबाट सबैभन्दा कम छ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको इन्द्रावती माविले २८ मध्ये २६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ ।

    फिदिमको कालिका मावि फिदिम–२ साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड भएनन् । यस्तै, ४१ जना विद्यार्थी परीक्षामा सामेल भएको सरस्वती मावि चोकमागूबाट जम्मा एक जना मात्र ग्रेडेड भएका छन् । फिदिमकै रानीटार माविबाट २८ जना परीक्षामा सामेल भएकामा २६ जना ग्रेडेड भएका छन् । फिदिममा सबैभन्दा बढी फिदिम माविबाट एक सय ९७ र सबैभन्दा कम सिंहसिद्ध मावि लुङरुपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । फिदिमका २० वटा सामुदायिक माध्यमिक विद्यालयबाट छ सय विद्यार्थी परीक्षामा सामेल भएकामा दुई सय ६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो । 

    यस्तै, फिदिमका पाँच वटा संस्थागत विद्यालयबाट एक सय २९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय छ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल फिदिम–८ बाट परीक्षामा सामेल भएका सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    फाल्गुनन्द गाउँपालिकाबाट दुई संस्थागतसहित १३ वटा विद्यालयबाट तीन सय चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ७१ जना ग्रेडेड भएका छन् । यहाँको सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् । फाल्गुनन्दको सिद्धदेवी मावि नवमीडाँडाबाट ३२ जना विद्यार्थी परीक्षामा सामेल भएका २९ जना उत्तीर्ण भएका छन् भने सिद्धेश्वरी माविबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा सबै जना उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईंले जानकारी दिनुभयो । फाल्गुनन्दकै संस्थागत विद्यालय पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी भएका सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

    यस्तै, मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र चार संस्थागत गरी १४ विद्यालयबाट एक सय ९९ जना परीक्षामा सामेल भएकामा एक सय २० जना ग्रेडेड भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश जेठाराले जानकारी दिएका छन , जुन ६० प्रतिशत हो । मिक्लाजुङका दुई सामुदायिक र एक संस्थागत विद्यालयबाट सहभागी भएका कुनै विद्यार्थी उत्तीर्ण भएनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ जना, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिइ । यहाँको सिंहदेवी मावि मिक्लाजुङ–५ बाट परीक्षामा सामेल भएका पाँचै जना विद्यार्थी ग्रेडेड भएका छन् । 

    यस्तै, फालेलुङ गाउँपालिकाका १३ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ७८ जना ग्रेडेड भएका छन्, जुन ५० प्रतिशत हो । यहाँको सरस्वती मावि ताङलेपाबाट परीक्षामा सहभागी भएका  चार जना विद्यार्थी नै उत्तीर्ण भएनन् । 

    फालेलुङका छ वटा विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सामेल भएका थिए । वडा नं २ को मोतिराम माविबाट तीन, पञ्चमुखी माविबाट चार, सिद्धेश्वरी माविबाट तीन र वडा नं ३ को सरस्वती मावि मच्छेबुङबाट छ, विद्याप्रचार माविबाट सात र सरस्वती मावि ताङलेपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको कालिका माविबाट सबैभन्दा बढी ३६ जना विद्यार्थी परीक्षामा सामेल थिए । 

    यस्तै, यहाँको सरस्वती मावि खुङ्गाबाट परीक्षामा सामेल १५ मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिएका छन । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend