काठमाडौं, २९ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले बजार हेरफेर तथा इन्साइडर ट्रेडिङमार्फत सर्वसाधारण लगानीकर्ताको अर्बौं रुपैयाँ दुरुपयोग गरेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले वित्तीय प्रणाली माथि अस्वाभाविक नियन्त्रण जमाउँदै बजारलाई प्रभावित बनाएको दाबी गरे। उनका अनुसार यस्ता गतिविधिले आर्थिक क्षेत्रसँगै राजनीतिक संरचना माथि समेत नकारात्मक असर पारेको छ।
“विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको नियन्त्रणमा पुगेको यथार्थ स्वीकार गर्नुपर्छ,” उनले भने, “जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति आर्जन गरिएको अवस्था थियो।”
उनले त्यस्ता समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभाव पार्ने प्रयास गरेको उल्लेख गर्दै आर्थिक तथा राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गरे।
अर्थमन्त्री वाग्लेले पछिल्लो राजनीतिक परिवर्तनलाई ‘जेन–जी आन्दोलन’को परिणामका रूपमा व्याख्या गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गरे।
सरकार सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पहिलो चरणमा सुशासन र त्यसपछि विकास निर्माणलाई तीव्रता दिने रणनीति अपनाइएको बताए।
उनका अनुसार सरकारले पुँजी बजारलाई पारदर्शी, व्यावसायिक तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्ने लक्ष्य लिएको छ। साथै, स्टक एक्सचेन्ज पुनःसंरचना सम्बन्धी प्रतिवेदन कार्यान्वयनको तयारी भइरहेको र आगामी बजेटमार्फत पुँजी बजार सुधारका थप कार्यक्रम ल्याइने संकेतसमेत उनले दिएका छन्।




.gif)





