काठमाडौँ, २९ वैशाख । सानिमा क्यापिटल लिमिटेडले वैशाख २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘सानिमा इक्विटी फन्ड २’ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ।
अब लगानीकर्ताले उक्त बन्दमुखी योजनामा जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, मागभन्दा बढी आवेदन परेमा क्यापिटलले जुनसुकै बेला सूचना प्रकाशित गरी निष्काशन बन्द गर्न सक्ने जनाएको छ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस १० वर्षे योजनामा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याइएको छ।
निष्काशन गरिएको कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख इकाई अर्थात कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ। साथै, २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त फण्डको इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
रेटिङ्गतर्फ, क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ नेपाल ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने इक्रा नेपाल ले योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ।




.gif)





