काठमाडौँ, २९ वैशाख । स्नो रिभर्स लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ।
त्यस्तै, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १८ हजार ७५० कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यसबाट कम्पनीले ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर पूँजी संकलन गर्नेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीलाई इक्रा नेपाल ले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको १३।५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि १५.७७ वर्ष रहेको विवरणमा उल्लेख छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।




.gif)





