images

२०८३ आश्विन २२ गते

images
images
images

जडीबुटी बेचेर मनग्गे आम्दानी

जडीबुटी बेचेर मनग्गे आम्दानी

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौँः ७ कात्तिक,  सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नुभयो ।

    images
    images

    लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ ।

    “पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उहाँले सुनाउनुभयो । 
        
    सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसक्नु भएको छ । 

    images
    images

    उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो ।

    उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ । 

    जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उहाँको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापार सम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उहाँले बताउनुभयो । 

    शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उहाँले सुनाउनुभयो । 


    पुख्र्यौली घर सङ्खुसभा भएका उहाँ जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनु भयो । “सुरुवती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ । 

    उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजार भन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो । “अहिले जडीबुटी प्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”

    इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनु भएका धरानका दावा शेर्पा पनि १० वर्ष देखि यही पेसामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रो सँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend