काठमाडौँ, १८ वैशाख । नबिल बैंक लिमिटेड ले आफ्ना कर्मचारी आमाहरूका लागि स्तनपानलाई सहज बनाउने उद्देश्यले केन्द्रीय कार्यालय, तीनधारामा “नबिल नर्सिङ रुम” सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित एक समारोहबीच बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिकी सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर उक्त कक्षको उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा सञ्चालक समिति सदस्यहरू अनन्त पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहसहित नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैंकले कर्मचारी हितलाई प्राथमिकता दिँदै कार्यरत आमाहरूलाई कार्यालय समयमै सुरक्षित, मर्यादित र सहज वातावरणमा स्तनपान गराउन सक्ने व्यवस्था मिलाउन नर्सिङ रुम स्थापना गरेको जनाएको छ। यसले कर्मचारीलाई काम र मातृत्वबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
कार्यक्रममा बोल्दै सञ्चालक सदस्य सरिता भट्ट अधिकारीले यस्तो कक्षले कर्मचारी आमाहरूलाई कार्यालयमै आफ्नो बच्चासँग सुरक्षित रहेको अनुभूति गराउने बताइन्।
त्यसैगरी, अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुमलाई बैंकको सकारात्मक र जिम्मेवार पहलको रूपमा उल्लेख गर्दै लैङ्गिक समानता र कर्मचारीमैत्री वातावरण नबिल बैंकका मूल मूल्यभित्र पर्ने धारणा राखे। उनले भविष्यमा यस्ता सुविधा अन्य शाखाहरूमा समेत विस्तार गरिने जानकारी दिए।
सीईओ मनोजकुमार ज्ञवालीले यस्ता पहलले कर्मचारीप्रति बैंकको उत्तरदायित्व झल्काउने र सहयोगी कार्यसंस्कृति निर्माणमा टेवा पुग्ने बताए।
हाल नबिल बैंकले देशभर २६८ शाखा र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ। चार दशकदेखि निरन्तर सेवा दिँदै आएको बैंकले पछिल्लो समय डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै ‘एनबैंक’ सेवा सञ्चालनमा ल्याएको छ।




.gif)





