काठमाडौँ, १६ वैशाख । यातायात व्यवस्था विभाग ले सार्वजनिक सवारीसाधनलाई प्रविधिमैत्री, सुरक्षित र व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ। ‘सार्वजनिक सवारीसाधनलाई प्रविधि जडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा तयार भई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा पठाइएको छ।
मस्यौदाअनुसार अब सार्वजनिक सवारीसाधनमा जीपीएस प्रणाली जडान अनिवार्य गरिने प्रस्ताव गरिएको छ। यसका लागि विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने यसको निगरानीका लागि नियन्त्रण केन्द्रसहितको प्रणाली विकास गरिनेछ। जडान गरिएका उपकरणहरू चुस्त अवस्थामा राख्ने जिम्मेवारी सवारीधनी, चालक तथा परिचालकको हुनेछ भने नियमित अनुगमन विभागले गर्नेछ।
त्यस्तै, सबै सार्वजनिक सवारीसाधनमा कम्तीमा दुईवटा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरिने प्रस्ताव गरिएको छ। तर ट्याक्सीका हकमा भने यो अनिवार्यता लागू नहुने उल्लेख छ। सीसीटीभी जडान गर्न चाहने ट्याक्सीधनीलाई विभागले प्राविधिक सहयोग गर्ने व्यवस्था पनि राखिएको छ।
सीसीटीभीबाट संकलित फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने दायित्व सवारीधनी, व्यवस्थापक र चालकको हुनेछ। यस कदमले यात्रुको सुरक्षा, सेवा गुणस्तर र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।




.gif)





