काठमाडौँ, १४ वैशाख । स्नो रिभर्स लिमिटेडले आगामी बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बाँडफाँट प्रक्रिया पूरा गरिसकेको छ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसअन्तर्गत ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
त्यस्तै, सामूहिक लगानी कोषका लागि ४६ हजार ८७५ कित्ता र कर्मचारीका लागि १८ हजार ७५० कित्ता सेयर बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ।
अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्नेछ, जसको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर हुन्छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुनेछ।
क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ।
कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै ३१ वर्ष २ महिना बाँकी छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत तोकिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।




.gif)





