काठमाडौँ, १४ वैशाख । एभरेष्ट बैंक लिमिटेड (EBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
चैत मसान्तसम्म बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँको तुलनामा ३.७१ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३२.४९ प्रतिशतले वृद्धि भए पनि इम्पेरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण नाफामा दबाब परेको देखिएको छ। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले बढे पनि सञ्चालन मुनाफा ३.५३ प्रतिशतले घटेको छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि ३ रुपैयाँ २६ पैसाले घटेर ३२ रुपैयाँ ३५ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात २१.५८ गुणा रहेको छ।
यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ।
चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




.gif)





