काठमाडौँ, १४ वैशाख । साउन देखि चैत सम्मको नौ महिनामा मोबाइल आयातका लागि नेपालबाट करिब ३४ अर्ब रुपैयाँ बाहिरिएको छ, जुन पछिल्लो एक दशककै उच्च स्तर हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को नौ महिनामा मात्रै ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन् । यसबाहेक ७२ करोड २२ लाख रुपैयाँ बराबरका अन्य (फिचर फोन तथा बार फोन) पनि आयात भएका छन् । गत आर्थिक वर्षभर भने ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए । अझै तीन महिना बाँकी रहेकाले चालु वर्षमा यो रकम अझै बढ्ने अनुमान गरिएको छ ।
मोबाइल आयात बढ्नुका प्रमुख कारणहरूमा अवैध ‘ग्रे मार्केट’ माथि सरकारी कडाइ, डलरको मूल्य वृद्धि, र उपभोक्ताको बदलिँदो रुचि रहेका छन् । व्यवसायीहरूका अनुसार वैध आयात बढ्दा समग्र तथ्याङ्क पनि उकालो लागेको हो ।
विशेषगरी युवापुस्तामा नयाँ प्रविधि प्रयोग गर्ने, डिजिटल कन्टेन्ट बनाउने र बारम्बार नयाँ मोडेलमा अपग्रेड हुने प्रवृत्तिले बजार विस्तार गरेको छ । साथै, शून्य ब्याजदरमा किस्ताबन्दी सुविधा र सस्तो मूल्यमा राम्रो फिचर भएका मोबाइल उपलब्ध हुनुले पनि माग बढाएको देखिन्छ ।
आयात स्रोतको हिसाबले चीन अग्रस्थानमा रहेको छ । चीनबाट मात्रै २५ अर्ब ६५ करोड रुपैयाँ बराबरका मोबाइल आयात भएका छन् भने भारतबाट ७ अर्ब ५९ करोड रुपैयाँ बराबरका मोबाइल आयात भएको छ । अन्य मुलुकहरूमा अमेरिका, संयुक्त अरब इमिरेट्स, जापान, दक्षिण कोरिया, बेलायत, क्यानडा लगायत पर्छन् ।
मोबाइल आयातबाट सरकारले वार्षिक औसत करिब ३ अर्ब रुपैयाँ भन्सार महसुल संकलन गर्दै आएको छ । भ्याटसमेत जोडिँदा यो क्षेत्र सरकारको महत्वपूर्ण राजस्व स्रोतका रूपमा स्थापित भएको छ ।
यद्यपि, वैध आयात बढे पनि अवैध रूपमा मोबाइल भित्रिने क्रम अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको व्यवसायीहरूको भनाइ छ ।




.gif)





