बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर लागू भएको जानकारी दिएको हो।
नयाँ व्यवस्था अनुसार काठमाडौं उपत्यका भित्र तथा उपत्यकाबाट बाहिरका विभिन्न सहर र बस्तीहरूमा सञ्चालन हुने सवारीका लागि फरक–फरक दर निर्धारण गरिएको छ। उपत्यकाभित्र भने दूरीका आधारमा भाडा तय गरिएको छ।
उपत्यकाभित्रको नयाँ भाडादर
० देखि ५ किलोमिटर: २४ रुपैयाँ
० देखि १० किलोमिटर: ३३ रुपैयाँ
० देखि १५ किलोमिटर: ३९ रुपैयाँ
० देखि २० किलोमिटर: ४४ रुपैयाँ
२० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ
यससँगै अब उपत्यकाभित्र यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ कायम भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्रका अन्य जिल्लातर्फ सञ्चालन हुने सवारी साधनका भाडादर पनि दूरी र रुटका आधारमा समायोजन गरिएको छ।
तर, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनका हकमा भने २०७९ साल वैशाख १ गतेदेखि लागू गरिएको पुरानै भाडादर यथावत् राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले इन्धन मूल्य, सञ्चालन लागत तथा सेवा सुधारलाई ध्यानमा राख्दै भाडा समायोजन गरिएको जनाएको छ।




.gif)





